कला

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

काठमाडौं – पत्रकार भैरव रिसालको भोगाइमाथि लेखिएको ‘उहिलेको नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ। बुधवार पत्रकार रिसालको ९२ औं जन्मदिनको अवसर पारेर ललितपुर पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले ‘उहिलेको नेपाल’ नामक पुस्तक विमोचन गरेका थिए।

पुस्तकमा रिसालले आफ्नो कार्यकालमा भोगेका राजनितिक, आर्थिक र सामाजिक पक्षहरुलाई समेटेका छन्। कार्यक्रममा बोल्दै उनले भोगेका र देखेका कुराजस्तो सुनेको सबै कुरा शत प्रतिशत विश्वसनीय नहुने दाबी गरेका थिए। ५८ वटा विषय समावेश गरिएको पुस्तकले ऐतिहासिक महत्व बोकेको दाबी उनले गरेका छन्। उनले ‘जंगबहादुरको समयमा भएका घटनाहरू’, ‘कुमारी चोकको त्राहिमाम’, ‘पुरानो समयमा हुने विवाह प्रचलन’, ‘महिलाले पहिलोपटक एसएलसी दिँदाको क्षण’, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेका कथा व्यथा’ र ‘हिमाली जिल्ला हुम्लामा लागू गरिएको उज्यालो अभियान’ लगायतका विषयवस्तुलाई पुस्तकमा समेटेका छन्।

लामो समयसम्म पत्रकारिताका लागिपरेका रिसालका अनुसार पत्रकारिता भनेको ‘हिड्नु हो, साइकल कुदाउनु हो र बुद्धिलाई घोट्नुपर्छ।’ कार्यक्रममा उनले पत्रकारिता पढेर होइन, परेर लागेको अनुभव सुनाएका थिए। ‘मेरो सम्पत्ति भनेको विश्वसनीयता हो’, उनले भने, ‘म पत्रकार परेर भएको हुँ।’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति रामवरण यादवले भने, ‘यो पुस्तकमा विभिन्न विषयवस्तुमाथि गम्भिर चर्चा गरिएपनि संविधान र विकास निर्माणको विषयलाई भने केही भेटिएन्, ’उनले भने,  ‘पत्रकारहरूले संवैधानिक विषय र नेपालको विकास निर्माणको पक्षमा कलम चलाउनुपर्छ।’
 

प्रकाशित: ३० श्रावण २०७६ ०३:१७ बिहीबार

भैरव_रिसाल पुस्तक