कला

अन्योलमा लोकबाजा संग्रहालय

काठमाडौं - त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ‘नेपाली लोकबाजा संग्रहालय’ भत्काउने निर्णय अन्योलमा परेको छ । लोकबाजा संग्रहालय, काठमाडौं विश्वविद्यालय, पुरातत्व  विभाग  र राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच पटक–पटकको छलफल निष्कर्षबिहिन हुन पुगेको भएपछि अन्योल सृजना भएको  जानकारी लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कडेँलले दिएका छन् । ‘गत असार ३० र साउन १४ बसेको छलफलविना निष्कर्ष सकिएपछि लोकबाजा संग्रहालय भत्काउने वा नभत्काउने विषयमा टुंगो लाग्न सकेको छैन्,’ उनले भने ।

गत असार ३० मा बसेको बैठकमा काठमाडौं विश्वविद्यालयले संग्रहालय भत्काउने तर्क राखेपनि राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भने नभत्काउने अनुरोध गरेको थियो । यसअघि गुठी संस्थानले त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको नेपाली लोकबाजा संग्रहालयको सतल भत्काउने भनेको थियो । गुठी संस्थानका सूचना अधिकारी सरोज थपलियाले संग्रहालयमा भएका बाजाहरु राख्ने उचित र सुरक्षित ठाउँको व्यवस्था भएपछि मात्रै संग्रहालय भत्काइने बताए । ‘बाजाहरुको लागि ठाउँ व्यवस्था गर्दा संग्रहालय भत्काउनमा केही दिन ढिलो होला,’ थपलियाले भने, ‘तर, भत्काउन पक्कै भत्काउछौं ।’

२५ वर्षको लागि गुठीले काठमाडौं विश्वविद्यालयलाई मन्दिर परिसरको सत्तल क्षेत्र भाडामा दिएपछि संग्रहालय भत्काइने बताउँदै आएको थियो । गुठी संस्थानमातहत रहेको उक्त सत्तल संग्रहालयले विसं.२०७१ सालमा सम्झौता गरेर पाँच वर्षको लागि लिजमा लिएको थियो । गुठीले संग्रहालयसँग गरेको सम्झौतालाई बेवास्ता गरेर विसं.२०७२ सालमा काठमाडौं विश्वविद्यालयसँग २५ वर्षे लिजको सम्झौता गरेको थियो । गुठी संस्थान र बाजा संग्रहालयबीच केही वर्षयता सत्तल छाड्ने कि भाडा करार थप्ने भन्ने विवाद भइरहेको थियो ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणका अध्यक्ष सुशील ज्ञवालीले लोकबाजा संग्रहालय राख्नका लागि उचित ठाउँको व्यवस्था गर्ने र संस्कृति मन्त्रालयसँग छलफल गर्ने बताए । ‘लोकबाजालाई बचाउने, संरक्षण र प्रवद्र्धन गर्ने हामी सबैको दायित्व हो,’ अध्यक्षले भने, ‘संग्रहालय भत्काउने कुरा भइरहे पनि त्यसको व्यवस्थाको लागि उचित व्यवस्था नहुँदासम्म भत्काइने छैन ।’ संग्रहालयका अध्यक्षले संग्रहालय सरकारलाई हस्तान्तरण गर्न चाहेको पनि उनले बताएका छन् । गत असार ३० गते बसेको बैठकमा हस्तान्तरणको लागि सरकार समक्ष निवेदन पेस गर्नुपर्ने दायित्व संस्कृति मन्त्रालयको भएकाले राष्ट्रिय पुनर्निमाण प्राधिकरण र पुरातत्व विभागले प्राविधिक सहयोग मात्र गर्ने विषयमा सहमति जनाइएको उनले दाबी गरेका छन् ।

संग्रहालय रहेको भवन २०७२ सालको भुकम्पबाट भत्किन लागेका कारण पुनर्निमाण गर्ने कि भत्काउने नै भन्ने विषयमा पनि संस्कृति मन्त्रालयसँग सकेसम्म छिट्टै छलफल गर्ने र काम अघि बढाउने उनले बताएका छन् । 

गुठीले काठमाडौं विश्वविद्यालयलाई लिजमा सत्तल क्षेत्र दिने सम्झौता गरेलगत्तै संग्रहालयले २०७४ मा काठमाडौं जिल्ला अदालतमा करार थप्नको लागि मुद्दा दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले प्रमाण अपुग ठहर गरेको थियो । संग्रहालयमा पाँच मुखे बाजा, सनहाई र ४० हजार घण्टाभन्दा बढीको ‘एनालग रेकर्डिङ’ राखिएका छन् । संग्रहालयले नेपालको विभिन्न समुदायहरूको सांस्कृतिक गीतहरू समेटिएर सीडी समेत निकालेको थियो ।

संग्रहालयमा नेपाली बाजासम्बन्धी विभिन्न समुदायको प्रतिनिधित्व गर्ने बाजाहरू, पुस्तक, अडियो र भिडियोहरू सुरक्षित राखिएका छन् । नेपाल सरकारले यस आर्थिक वर्षमा नेपाली लोकबाजाको संरक्षणको लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित: २७ श्रावण २०७६ ०३:४४ सोमबार

लोकबाजा_संग्रहालय