कला

क्यानभासमा मीनाको ‘हिरा’

काठमाडौं - राजधानीको होटल अन्नपूर्णमा विभिन्न चराहरूका चित्रकला प्रदर्शनी भएका छन्। चित्रकार मीना डंगोलको ‘हिरा’ नामक एकल चित्रकला प्रदर्शनीमा लाटोकोसेरोको विभिन्न ३५ वटा चित्रहरू समावेश गरिएका थिए।

‘मलाई चराहरूको विभिन्न गतिविधिले आकर्षित गरिरहन्छ। उनीहरूको भाव बुझ्न मैले क्यानभासको साहारा लिएको छु। क्यानभासमा विभिन्न चराहरूको भावलाई उतारेको छु,’चित्रकार डंगोलले भनिन्।

विगत पाँच दशकदेखि चराचुरुङ्गीहरूको चित्रकलाका काम गरिरहेका उनका पिता स्वर्गीय हिरालाल डंगोलको सम्झना स्वरूप आयोजना गरिएको प्रदर्शनीमा कालिज, सेतो बकुला, लाटोको सेरो, हिम उल्लू, डा“फे, रानी चरी, मयूर, चरी, हाप्सिलो, सुवर्ण महाचिल र सेतो बकुलालगायत चराहरु चित्र समावेश गरिएका छन्। प्रदर्शनीमा लाटोकोसेरो (उल्लू) का विभिन्न भाव समेट्ने चित्रहरू राखिएका थिए।

‘पारिवारिक वातावरण कलात्मक भएकाले चित्रकलामा लाग्न प्रोत्साहन मिलेको हो। बुबाको कामलाई निरन्तरता दिन लागिपरेको छु,’ उनले भनिन्। प्रदर्शनीबाट उठेको रकम जेसिआई काठमाडौंमार्फत ‘छोरीलाई पनि शिक्षा’ नामक शैक्षिक अभियानलाई प्रदान गरिनेछ।

 

प्रकाशित: २० श्रावण २०७६ ०३:०७ सोमबार

क्यानभास हिरा चित्रकला प्रदर्शनी