कला

स्तनपान गराउन नेहाको आग्रह

मुम्बई – अन्तर्राष्ट्रिय स्तनपान सप्ताहको अवसरमा अभिनेत्री नेहा धुपियाले ‘फ्रिडम टु फिड’ नामक अभियानको सुरुवात गरेकी छिन्। उनको औपचारिक इन्स्टाग्रामले छोरी मेहरसँगको भिडियो पोस्ट गर्दै उनले लेखेकी छिन्, ‘ह्यासट्याग फ्रिडम टु फिड – नेहा धुपियाको पहलमा। संवाद सुरू गरौं..आमा भएर हामी चाहान्छौं फ्रिडम टु फिड।’

सो भिडियोमा मेहरको जन्मदिन, अभिनेत्री धुपियाको मातृत्व भाव र उनको अनुभव समावेश गरिएको छ। बच्चा जन्मिएको ६ महिनासम्म बच्चाहरूलाई स्तनपान गराउनुपर्नेबारे बोल्दै अभिनेत्री धुपियाले आफ्नी छोरी मेहरलाई स्तनपान गराइरहेको बताएकी थिइन्। ‘स्तनपान गराउन अत्यावश्यक रहेछ। बच्चा जन्मने बित्तिकै स्तनपान गर्न पाउनु उसको नैर्सर्गिक अधिकार भएकाले उनीहरू जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुधमात्र खुवाए पुग्छ,’ भिडियोमा उनले भनेकी छिन्, ‘आमाको दुधमा धेरै किसिमका पौष्टिक आहारहरू पाइने हुँदा विगौती दुध नवशिशुलाई अनिवार्य रूपमा खुवाउन जरुरी छ। ६ महिनासम्म शिशुलाई आमाको दुधमात्र खुवाई सकेपछि शिशुको शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्ने हुन्छ।’ स्तनपान गराउँदा आमाहरूले माफी माग्नु नपर्नेमा उनले जोड दिएकी छिन्।

भिडियोमा उनले आमाहरूलाई स्वतन्त्र भएर बालबालिकाहरूलाई स्तनपान गराउन आग्रह समेत गरेकी छिन्। सन् २०१५ मा नेपाल भ्रमणमा आएकी उनले बालबालिकाहरूको स्वास्थ्यलाई ध्यान दिएर स्तनपानको महत्व बुझ्न अपिल गरेकी छिन्। आमाको दूधमा रोगसँग लड्न सक्ने प्रतिरक्षात्मक तŒव हुन्छ, जुन बच्चाको शारीरिक र मानसिक विकासका लागि अति अपरिहार्य छ। आमाले बालबालिकालाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक र आत्मसन्तुष्टि प्राप्त हुने भाव उनले भिडियोमा उल्लेख गरेकी छिन्।
 
सन् २०१८ मा अंगद बेदीसँग विवाह गरेकी अभिनेत्री धुपिया कालोजसँग ‘हेलिकप्टर ईला’ मा देखिएकी थिइन्। सन् २००२ की फेमिना मिस इन्डिया अभिनेत्री धुपियाले ‘चुप चुप के’, ‘गरम मसला’, ‘दश कहानियाँ, ‘सुटआउट एट लोखन्डवाला’, ‘एक्सन रिप्ले’, ‘सिंह इज किङ’ र ‘फाइट क्लब’ लगायत फिल्ममा अभिनय गरेकी छन्।  

प्रकाशित: १९ श्रावण २०७६ ०५:४५ आइतबार

अन्तर्राष्ट्रिय_स्तनपान_सप्ताह स्तनपान नेहा_धुपिया फ्रिडम_टु_फिड