कला

महिला मुद्दा बेवास्ता गर्ने अभिनेत्री विवादमा

काठमाडौं - अभिनेत्री रिमा विश्वकर्माले ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतमा अभिनय गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेका छन्। महिलालाई होच्याइएको सो गीतको भिडियो आफ्नो औपचारिक फेसबुक पेजबाट सेयर गरेकी अर्की अभिनेत्री केकी अधिकारीको चौतर्फी आलोचना भइरहेको छ।

गायक आर्जन पाण्डेको औपचारिक युट्युब च्यालनबाट सो गीत अपलोड भएपछि महिलाको अपमान गरिएको भिडियोमा अभिनय गरेको भन्दै अभिनेत्री विश्वकर्मामाथि टिकाटिप्पणीको ओहिरो लागेको छ। महिला हिंसाको विरोधमा विभिन्न कार्यक्रममा सहभागी हुने अभिनेत्री अधिकारी र विश्वकर्माले महिला अधिकारको मुद्दालाई फितलो बनाएको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आलोचनापछि अभिनेत्री अधिकारीले गीतको लिंक हटाएपनि कुनै प्रतिक्रिया दिएकी छैनन्। यस विषयमा अभिनेत्री विश्वकर्माले भनिन्,‘मैले म्युजिक भिडियोमा अभिनय गरेको विषयमा केही भन्नु छैन्। सरी।’

यौन दुव्र्यवहार र महिला हिंसाविरुद्धको मिटु अभियानलाई मजाकको विषय बनाएको भन्दै अभिनेत्री रिमा विश्वकर्मा विवादमा तानिएकी थिइन्।

‘घाँटीभन्दा तल त राम्री नै छे’ गीतका गायक आर्जन पौडेलले रमाइलोका लागि तयार भएको गीतमा टिकाटिप्पणी भएको देखेर अच्चमित भएको प्रतिक्रिया दिएका छन्। ‘रमाइलो शैलीको गीतमाथि टिकाटिप्पणी आउनु अचम्मको कुरा हो। यो गीतले महिलालाई मजाकको विषय बनाएको छैन्। युवा पुस्ताहरूको लागि केन्द्रित गरेर तयार भएको यो गीतलाई गीतको रूपमा लिनसक्नुपर्छ,’ उनी भन्छन्।

यो गीतका शब्दहरूले महिलालाई होच्याउने र वस्तुकरण गरेको छ।  यौनिक भावमा महिलाई परिभाषित गरिएको भद्दा शैलीमा गीतमा समावेश गरिएको छ। यस गीतको विरोध गर्दै फेसबुकमा गायिका आस्था राउत लेख्छिन्, ‘केटीलाई यौनको साधन बनाउनेले यस्तो गीत निकाल्छ। यो गीत देखेर मलाई नेपाली संगीत कता जाँदैछ भनेर सारै चिन्ता लाग्यो...छिछिछि।’ पुरुष मानसिकताले महिला फितलो शैलीमा हेर्नुपर्छ भन्ने मान्यतालाई गीतमार्फत जवरजस्ती बुझाउँन खोजिएको उनले तर्क गरिन्। ‘नेपाली संगीतमा महिलालाई फितलो रूपमा लिएका गीतहरु तयार भइरहेका छन्। महिलाको सम्मान गर्न नसक्ने यस्ता सर्जकहरूले महिलाप्रति हेर्ने दृष्टि सही छ भन्नु गलत हो,’ उनी भन्छिन्।

संगीत समिक्षक तथा गिटारिष्ट सन्नी महतका अनुसार बौद्धिक अभिनेत्रीहरूले महिलाको आत्मसम्मानको विषयलाई ठट्टा बनाउनु लाजमर्दो र निराशाजनक विषय हो। उनी ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतलाई उनी गीत मान्दैनन्। ‘दुवै अभिनेत्रीहरूले महिला अधिकारो विषयमा राखेका तर्कहरू क्षणभरमा बिलिन भएको छ। म्युजिक भिडियोको लागि महिलाका विभिन्न विषयमा उहाँहरूले लेख्नु भएको आफ्नो विचारहरू बिर्सनु लाजमर्दो हो। रमाइलोको लागि तयार हुने यस्तो गीतलाई कसरी गीत भन्न मिल्छ ?,’ उनी प्रश्न गर्दछ, ‘महिलामाथि भद्दा मजाक र गलत नजर राख्न प्रेरित गर्ने शब्दहरु प्रयोग भएका छन्। महिलाहरू एकसाथ बसेर सुन्न नमिल्ने यो गीत हटाउनु उत्तम हुन्छ।’

संगीतकार चेतन सापकोटाले गीतको विरोध गर्दै लेखेका छन्,‘गीत संगीतमा भित्रिदै गरेको अश्लिलताले हाम्रा साना नानीबाबुहरुलाई पनि संक्रमित गर्दैछ।’
हाँस्यकलाकार निर्मल शर्माले लेखेका छन्, ‘भगवानसँग कामना गर्छु यो गीत मेरो छोराछोरीले सुनेर नगाइदेउन् र श्रीमती, ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस्।’ यौन दुव्र्यवहार र महिला हिंसाविरुद्धको मिटु अभियानलाई मजाकको विषय बनाएको भन्दै केही समयअघि अभिनेत्री विश्वकर्मा विवादमा तानिएकी थिइन्।
 

 

प्रकाशित: १७ श्रावण २०७६ ०२:३२ शुक्रबार

अभिनेत्री मुद्दा विवाद