कला

‘घाटी भन्दा तल राम्रै छि’ मा महिला पात्रमाथी गरिएको भद्धा मजाक

काठमाडौं - आर्जुन पाण्डेको स्वरमा रहेको ‘घाटी भन्दा तल राम्रै छि’ बोलको गीत अहिले निकै नै आलोचना भएको छ। महिला पात्रलाई तल खसाल्ने शब्द प्रयोग गरिएको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा गितको बिरोध गरिएको हो। विभिन्न कलाकारहरुले गितलाई लिएर आ– आफ्नो विचार राखेका छन्। एपिवान टेलिभजिनबाट प्रशारित कार्यक्रम नेपाल आइडलमा सह– उद्योषकले मिटु अभियानलाई लिएर गरेको मजाक सेलाउँन नपाउँदै रिमा बिश्वकर्मा अर्को बिबादमा मिस्सिएकी छिन्। महिला हक–अधिकारका विषयमा बोल्ने, बिभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी उनी स्वयम महिलाको अपमान गर्ने गितमा मोडलिङ् गरेको बिषयलाई लिएर उनको दाहोरो भुमिकालाई लिएर टिप्पणी गरीएको छ। उक्त गितको शब्दलाई लिएर उनीसंग कुराकानी गर्न खोज्दा उनी भने सम्पर्कमा आउँन चाहनिन्।

महिलाका विषयमा बोल्ने, महिला जागरणका विषयलाई विभिन्न माध्यमबाट आवाज उठाउँने नाइकाहरुले दोहोरो चरित्र देखाएको बताउँछन् म्युजिसीयन सन्नी महत। संगीत सर्जक संगै पत्रकार भएका नाताले ‘घाटि देखि तल राम्रै छि’ लाई गित नै नमान्ने उनले बताए। गितको प्रचारप्रसारको लागि रिमा बिश्वकर्मा र केकी अधिकारी देखाएको भुमिका निकै निरासाजनक रहेको उनी बताउँछन्। उनी भन्छन्,‘विभन्न माध्यमबाट रिमा र केकीले महिलाका विषयमा राखेका धारणा र समर्थन पुरुषवादी चिन्तनलाई गरिने प्रतिकारात्मक बिचार एउटा सामान्य म्युजिक भिडियोको लागि बिर्सनु भनेको कहाँ सम्म हो ?’  भखरैमात्र महिला हिंसाको विषयमा लेखिएका बिचारहरु व्यर्थै भएको उनी बताउँछन्। ‘रमाइलो गर्नका लागि गाइएका गित–संगीतहरुको छनक नै फरक हुन्छ, यो गितलाई कसरी गित मान्नु ?’ उनले प्रश्न गरे। गितमा रहेको एउटा लाइन मात्र नभएर गितको अन्त्य सम्म नारीमाथी गिद्धे नजर राख्न प्रेरित गर्ने शब्द प्रयोग गरेकोमा चित्त नबुझेको उनी बताउँछन्। ‘गितको सुरुवात देखि नै महिला पात्रलाई यति हल्का बनाइएको छ की, महिला साथीहरु, दिदि बहिनी, आमासंगै भएको समयमा सुन्न सकिन्न’ उनले भने।  ‘घाटी भन्दा तल राम्रै छि’ का टिमले गितको विषयमा स्पष्टीकरण दिनु भन्दा डिलिट गर्नु नै उपयुक्त हुने उनी सुझाउँछन्।

महिला प्रतिको सम्मान हामीमा नै नभए समाजलाई विकृतीबाट उन्मुक्त बनाउँन नसक्ने बताउँछिन् गायिका आस्था राउत। महिलालाई बस्तु र साधनको रुपमा प्रयोग गरिने मानसिकता परिवर्तन हुने भन्दा पनि पैशाको आडमा मनलाग्दी प्रयोग गर्न सकिने सन्देश दिएकोमा उनी चिन्ता व्यक्त गर्छिन्। ‘महिलाका अंगका बिषयमा, महिलालाई भोग गर्नु पर्छ भन्ने खालका गितहरुले समाजलाई के दिने ?’ उनी प्रश्न गर्छिन्। पुरुष मानसिकताले महिलालाई यसरी हेर्नु पर्छ भनी गितमार्फत जवरजस्ती बुझाउँन खोजेको देख्दा दिक्क लागेको उनी बताउँछिन्। ‘नेपाली संगीत जगतमा भएका गल्तीहरुलाई हामीले औल्याएर, सच्याउँनु पर्छ, उनी भन्छिन्,‘यस्तै महिलालाई फिलतो पात्रको रुपमा लिएका गितहरु लगभग डेढसय जती अस्विकार गरेकी छु।’ महिलालाई गुडियाको रुपमा आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ भन्ने सोचबाट माथि उठेर गित–संगीतको सम्मान स्वरुप गाउँनुु पर्ने उनी बताउँछिन्।

‘घाटी भन्दा तल राम्रै छि’ गितको नकारात्मक आलोचना पछि निकै चिन्तित रहेका गाएक आर्जन पौडेलले असोचनिय घटना भएको बताउँछन्। ‘गितलाई रमाइलोेका लागिमात्र लिनुहुन्छ की भन्ने लागेको थियो तर निकै नकारात्मक टिप्पणी देखेर आफै अचम्ममा परेको छु’ उनले भने। गितको शब्दले कुनै महिलालाई मजाक गर्न वा हेप्न नखोजेको उनी स्पष्ठ पार्छन्। आफु भन्दा अग्रजले महिला पात्रलाई लिएर बनाइएका फिल्म, गित, कवितालाई त्यति चासो नदिई, यो गितमात्र आलोचनाको विषय बनेकोमा नराम्रो लागेको उनी गुनासो पोख्छन्। ‘साहित्य, फिल्म लगायत अन्य सृजनामा महिला पात्रलाई प्रस्तुत गरिने तरिका र गितमा निकै फरक छ, शब्दले यत्ति धेरै समस्या ल्याउँला भन्ने सोचेको थिइन्’ उनले भने। युवापुस्ताको लागि भनी तयार गरिएको गितमा धेरै नै नकारात्मक टिका–टिप्पणी आएकोमा उनी चिन्ता व्यक्त गर्छन्। व्यक्तिगत रुपमा कुनै पनि महिलाको अपमान गर्न नखोजेको भन्दै उनी भन्छन्,‘युट्युव खोल्ने हो भने विभिन्न दोहोरो अर्थ प्रयोग गरिएका प्रयांक भिडियो, गितहरु छन्, हाम्रो गितको भाषा सोझै भएर होकी यस्तो आलोचनामा आएको ?’ सधै ब्रेकअप भएर रोइरहनु भन्दा जीवन रमाइलो छ, फेरी नयाँ मान्छेलाई जीवनमा ल्याएर पनि बाच्न सकिन्छ भन्ने गित मार्फत बुझाउँन खोजिए पनि अनर्थ लागेको उनी बताउँछन्। यो मेरो पहिलो गित हो जस्मा साचेको भन्दा बढी नकारात्मक टिप्पणी पाए, गितलाई गित जस्तो लिदिनु भएन, सोचे जस्तो अहं ! भएन’ उनले भने।

प्रकाशित: १६ श्रावण २०७६ ०२:५३ बिहीबार

आर्जुन_पाण्डे मजाक घाटी_भन्दा_तल_राम्रै_छि आलोचना