कला

‘पलेँटी’ मा गुञ्जिए विक्रमका धुन

काठमाडौं – नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ शृंखलामा संगीतकार विक्रम गुरुङका सांगीतिक सृजनाहरू प्रस्तुत भएका छन्। शुक्रबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा संगीतकार गुरूङले संगीत दिएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गरिएका थिए।

संगीतकार गुरुङले संगीत दिएको गायक अरुण थापाको पहिलो रेकर्ड भएको ‘कतै टाढा तिमीबाट पुगेँ भने’ बोलको गीतबाट कार्यक्रमको सुरूआत गरिएको थियो। ‘आँखाको निंद खोसी लाने, ‘जति माया आफ्नो लाग्छ’, ‘विरह चले जस्तो लाग्छ’, ‘मेरो भाग्य मैसँग रिसाए जस्तो’, ‘किन मुटुको ढुकढुकी बढ्यो’ र ‘रात राम्रो तारा जूनले’ लगायत गीतहरु प्रस्तुत गरिएका थिए। गायिका मीना निरौलाले उनलाई साथ दिएकी थिइन्।

संगीतकार गुरुङले कार्यक्रममा विश्वविद्यालय अध्ययनका क्रममा भेटिएका साहित्यिक मित्रहरूसँगको संगत र नेपालदेखि हङकङसम्मको अध्यापन काललाई जोड्दै सांगीतिक प्रस्तुति दिएका थिए। गायक अरूण थापाको सन्दर्भबाट सुरू भएको कार्यक्रम उनकै सन्दर्भमा आएर समापन भएको थियो।

पलेँटीमा वाद्यवादनतर्फ बेस गीटारमा अम्बर गुरुङ ‘पोखरेली’ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा पारस सुवेदीले साथ दिएका थिए। पलेँटीको आउँदो महिनाको शृंखलामा पुरानो सांगीतिक ब्याण्ड ‘लेकाली समूह’लाई प्रस्तुत गरिने कुरा आयोजक संस्था नेपालयले जानकरी गराएको छ। ‘५२ वर्ष पहिले स्थापना भएको ‘लेकाली’ सांगीतिक समूहमा हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला, निर्मला श्रेष्ठ र ईन्द्रनारायण मानन्धर लगायत कलाकारहरू सम्मिलित रहेका थिए। उनीहरूको सांगीतिक प्रस्तुतिलाई आउँदो महिनाको ‘पलेँटी’ शृंखलामा समेट्दैछौं,’ आयोजक नेपालयका अर्पण शर्माले भने। तीन दिनसम्म सञ्चालन हुने शृंखला आइतबारसम्म चल्नेछ।

 

प्रकाशित: १२ श्रावण २०७६ ०५:२८ आइतबार

सांगीतिक_कार्यक्रम पलेँटी धुन