कला

शताब्दी पुरुष सत्यमोहनका तीन पुस्तक सार्वजनिक

काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन पुस्तकहरू सार्वजनिक भएका छन्। संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित ३० वटा कृतिहरू तयार भएका ‘सत्यमोहन जोशी विशेषाङ्क’, ‘कृति विम्बमा सत्यमोहन जोशी’ र ‘अवलोकेश्वर करुणामय रातो मत्स्येन्द्रनाथ’ नामक पुस्तकहरू सार्वजनिक गरिएका थिए। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको वार्षिक उत्सवको कार्यक्रममा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन कृतिहरू विमोचन गरेकी थिइन्।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले संस्कृतिविद् जोशीका कृतिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएकी थिइन्। ‘शताब्दी पुरुष सत्यमोहन जोशीले नेवारी र नेपाली भाषामा लेखेको कृतिहरू छनोट बनाएर तीन वटा पुस्तकहरू सार्वजनिक भएका छन्। उनले लेखेको अन्य कृतिहरू समेत संरक्षण गरिनुपर्छ,’उनले भनिन्।
संस्कृतिविद् जोशी कृतिहरूको मूल्यांकन गरेर तीन वटा पुस्तकहरू प्रकाशित भएका थिए। संस्कृतिविद् जोशीले नेवारी भाषाबाट ४० भन्दा बढी कृति लेखिसकेका छन्। तीन वटा पुस्तकलाई जीवनचन्द्र कोइरालाले सम्पादन गरेका थिए।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले आयोजना गरेको कार्यक्रममा समाजसेवी सगुन शाह र गीतकार रत्नशम्सेर शाहलाई अभिनन्दन गरिएको थियो। कर्मयोगी बद्रीविक्रम थापाको ९७ औं जन्म स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै गुठीका उपाध्यक्ष भीमबहादुर अधिकारीले समाजसेवी बद्रीविक्रम थापाको व्यत्तित्वमाथि बोलेका थिए। यसवर्षको बद्रीविक्रम चरित्र पुरस्कार हिन्दुविद्यापीठ, दाङकी छात्रा प्रतिभा चौधरीलाई गरिएको थियो। गायक शिशिर योगीले कार्यक्रममा संस्कृतिविद् जोशीद्धारा लिखित गीतहरू प्रस्तुत गरेका थिए।

प्रकाशित: १२ श्रावण २०७६ ०५:१२ आइतबार

सत्यमोहन_जोशी पुस्तक सार्वजनिक