कला

स्क्रिप्ट र निर्देशकको कामलाई आधार मान्छु

काठमाडौं – ‘आमा’ फिल्मको वर्कसपमा व्यस्त अभिनेत्री सुरक्षा पन्त सिर्जनात्मक स्क्रिप्ट र निर्देशक अनुसार काम छनोट गर्छिन्। इन्जिनियरको विद्यार्थी उनी फिल्मको प्रस्ताव आएपछि स्क्रिप्ट मागेर पढ्ने बताउँछिन्। ‘मलाई सिर्जनात्मक स्क्रिप्ट पढ्न मनपर्छ। कुनै फिल्ममा अभिनयको लागि प्रस्ताव आएपछि स्क्रिप्ट माग्ने गरेको छु,’ उनी भन्छिन्, ‘ निर्देशक नयाँ भए पनि ठीकै छ। स्क्रिप्टलाई व्याख्या गर्न सक्ने निर्देशकसँग काम गर्न सजिलो हुन्छ।’

‘अझैपनि’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी उनले निर्देशक साम्तेन भुटियाको ‘सुस्केरा’ मा भने स्क्रिप्ट नपढी काम गरिन्। ‘निर्देशकको काम हेरेर फिल्म खेलेको थिए,’ उनी भन्छिन्,‘ स्क्रिप्ट नपढी काम गर्दा अप्ठ्यारो हुने रहेछ।’

उनले ‘अझै पनि’, ‘धनपति’, ‘गोपी’, ‘सुस्केरा’, ‘भैरे’ र ‘घर’ फिल्ममा काम गरिसकेकी छिन्। आफूलाई इन्जिनियर र कलाकार भन्न रूचाउने उनी अभिनय सुधार्दै लैजाने बताउँछिन्। स्क्रिप्ट र निर्देशकहरूको कारण उनले रिजेक्ट गरेको फिल्मको संख्या धेरै छन्। ‘मलाई अफर धेरै आउँदैनन्। अफर आएका फिल्महरूको कथावस्तुले आकर्षण नगरेसम्म स्क्रिप्ट सुनिदिन्छु,’ उनी भन्छिन्।

अभिनय निखार्न फिल्मको सुटिङमा जानु करिव एक महिनाअघिदेखि उनी रिहर्सलमा जुट्ने गर्छिन्। ‘नयाँ फिल्म ‘आमा’ मा धेरै दृश्यहरू झरीमा खिच्नुपर्ने भएकाले त्यसको लागि रिहर्सलमा जुटेको छु,’ उनले भनिन्,‘ क्यामेरामा लाज नमानी अभिनय गर्नका लागि आत्म विश्वासको आवश्यकता पर्छ। त्यसैले रिहर्सल मेरो लागि महत्वपूर्ण हुन्छन्।’
प्रायः चरित्रप्रधान भूमिकामा काम गर्न रूचाउने उनी, ‘हिरोइन’ लाई ग्लयामरका परिभाषाको रूपमा हेरिने संस्कार अन्त हुनुपर्ने बताउँछिन्। ‘हिरोइन भनेको ग्लयामर र सुन्दरताको लागिमात्र हेरिन्छ। नेपाली फिल्ममा महिलाहरूको भूमिका यसले गर्दा बलियो हुन सकेको छैन्,’ उनी भन्छिन्।

प्रकाशित: ६ श्रावण २०७६ ०६:४० सोमबार

वर्कसप स्क्रिप्ट निर्देशक