कला

छोरी उमेरकी शिल्पासँग बहुविवाह गरेको भन्दै छविकी जेठी श्रीमती प्रहरीमा

काठमाडौं– फिल्म निर्माता छविराज ओझाविरुद्ध बहुविवाह मुद्दामा उजुरी परेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरुद्ध बहुविवाह मुद्दामा उजुरी दिएकी हुन्। 

हेमाले उजुरीमा ‘मेरा श्रीमानले घरमा श्रीमती हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा मेरा विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिएर हदैसम्मको सजाय गरीपाउँ’ भनी उल्लेख गरेकी छिन्। 

हेमाले छविसँग आफ्नो २०४१ सालमा विहे भएको तथा दुई छोरासमेत रहेको र सम्बन्ध पनि सामान्य नै रहेको बताउँदै साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको प्रमाणपत्र फेला पारेको र सोही प्रमाणपत्रको आधारमा बहुविवाहको मुद्दामा उजुरी दिएको उल्लेख गरेकी छिन्। 

यसअघि आफूमाथि घरेलु हिंसा गरेको भन्दै शिल्पाले छविविरुद्ध महानगरीय प्रहरी परीसर काठमाडौंमा उजुरी दिएकी थिइन्। उक्त उजुरीमा मिलापत्र भएको थियो भने शिल्पा छविसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा रहँदा छविकी जेठी श्रीमती हेमा बहुविवाहको उजुरी लिएर प्रहरीकहाँ पुगेकी हुन्। 

छविराज_ओझा बहुविवाह_मुद्दा उजुरी हेमा_ओझा जेठी_श्रीमती