कला

पर्यटक भित्र्याउन गीति बृत्तचित्र

सिन्धुपाल्चोक– पर्यटन वर्ष सन् २०२० लाई सघाउन बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको स्वरमा सिन्धुपाल्चोकको चिनारी झल्कने गीति बृत्तचित्र सार्वजनिक गरिएको छ। 

सरकारद्धारा घोषित पर्यटन वर्षको पूर्वसन्ध्यामा प्रधानसहितको स्वरमा ‘जय जन्भमूमि, जय सिन्धुभूमि’ बोलको गीति बृत्तचित्र सार्वजनिक भएको हो। जिल्लाबाट प्रकाशित हुँदै आएको ओखरेनी साप्ताहिकले निर्माण गरेको उक्त गीति बृत्तचित्रमा गायक प्रधान, चन्द्रसिंह घले तमु र मीना सिंहले स्वर भरेका छन्। 

शब्द र दृश्यमार्फत सिन्धुपाल्चोकका प्रमुख पर्यटकीय गन्तव्यस्थलको चित्रण गर्दै घुम्नका लागि पर्यटकलाई अपिल गरिएको किशोर बुढाथोकी किष्माको शब्द रचना रहेको गीतमा चन्द्रसिंहले संगीत भरेका छन्। २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरेको छ। सिन्धुपाल्चोक, चौताराका स्थायी बासिन्दा रहेका गीतकार एवम् संगीतकार प्रधानले जिल्ला चिनाउने गीतमा स्वर दिएर पर्यटन वर्ष सफल बनाउन सबैलाई हौस्याएका छन्।

साता लगाएर छायांकन गरिएको गीति बृत्तचित्रको दृश्य सम्पादन उत्तम रानामगरले गरेका छन् भने मिलन शंकरले छाँयांकनका साथै बृत्तचित्र निर्देशन गरेका हुन्। ‘सरकारको अभियानलाई सघाउनु सबै नागरिकको कर्तव्य हो,’ बृत्तचित्र निर्माण गरेको ओखरेनीका सम्पादक÷प्रकाशक अमित घिमिरेले भने, ‘सोही कर्तव्य सम्झेर गीति बृत्तचित्रमार्फत पर्यटक भिœयाउन प्रयास गरेका हौं।’ 

जिल्ला चिनाउने गीति बृत्तचित्रको दृश्यमा गत चैतमा मात्र पहिलो पटक सफल आरोहरण गरिएको राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमालदेखि प्रख्यात धार्मिकस्थल पाँचपोखरीसम्म समेटिएको छ। चर्चित आमायांग्री, नौलिंगेश्वर महादेव, गौराति भिमेश्वर, लिस्तिमाई, मल्लकालीन सहर तौथली र त्रिपुरासुन्दरीमाई, अबिरल बहिरहने इन्द्रावती नदीतीर, अल्पसंख्य समुदाय माझी, दनुवार बस्ने भीमटार फाँटदेखि सुनकोसी नदीमा हुने साहसिक खेल ¥याफ्टिङसम्मको दृश्य गीति बृत्तचित्रमा देख्न पाइन्छ। 

जनजाति समुदायको बाहुल्य रहेको जिल्लाका नेवार, शेर्पा, ह्योल्मो, तामाङ र घलेको भेषभुषा र संस्कृतिलाई छाँयाकार मिलन शंकरले कुशल ढंगले बृत्तचित्रमा उतारेका छन्। सीमा नाका तातोपानी, व्यापारिक क्षेत्र बाह्रविसे, अन्नभण्डार मेलम्ची र प्रशासनिक मूकाम चौतारा लगायत स्थानको दृश्य समेटिएको छ। 

 

प्रकाशित: ४ श्रावण २०७६ १५:३२ शनिबार

गीति_बृत्तचित्र सिन्धुपाल्चोक पर्यटन_वर्ष प्रेमध्वज_प्रधान