कला

फेस एपमा रमाउँदै कलाकारहरू

काठमाडौं - अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जाल आफ्नो बुढ्यौली फोटो सार्वजनिक गरेका छन्। फुलेका कपाल र चाउरी परेर बुढ्यौली झल्काएको फोटो फेस एपले बनाइदिएपछि उनको बुढ्यौली झल्काउने फोटोले चर्चा पाइरहेको छ। जुनसुकै उमेर समूहका मानिसहरूले आफ्नो बुढेयौलीपनको झलक फोटो फेस एपले बनाइदिएपछि कलाकारहरू यसमा रमाउन थालेका छन्।

सामाजिक सञ्जालहरू चर्चा पाइरहेको फेस एप च्यालेन्जमा सवै उमेर समूहका मानिसहरू सहभागि हुँदैछन्। फेस एप प्रयोग गरेर सामाजिक सञ्जालमा फोटो राख्ने आफू पहिलो भएको दाबी अभिनेता गिरीले गरेका छन्। ‘फेसबुकमा साथीले वृद्ध अवस्थाको फोटो पठाइदिएपछि उसलाई खुसी पार्न मैले फोटो सार्वजनिक गरेको थिएँ,’ उनले भने, ‘ आफ्नो फोटो हेरेर मख्ख परिरहेको छु।’

फेस एपको फिचरमध्ये सर्वाधिक प्रयोग भएको ‘ओल्ड एज’ मनोरञ्जनको रूपमा संसारभरका कलाकारहरूले प्रयोग गरिरहेका छन्। हाँय कलाकार मनोज गजुरेल ‘ओल्ड एज च्यालेन्ज’ को लागि फोटो राखेका छन्। ‘हाम्रा काका साह्रै पाका छन्। ८० वर्षे तन्नेरी भाका छन्’ भनेर क्याप्सन लेखेर फोटो राखेपछि उनको फोटो सामाजिक संञ्जालमा भाइरल भइरहेको छ। मनोरञ्जनको लागि उनले फेस एप प्रयोग गरेको बताए। ‘यो एप रमाइलो लागेर प्रयोग गरेको असुरक्षित पो रहेछ,’ उनले भने।

अभिनेत्री दिपाश्री निरौलाले फेस एपको प्रयोग गरेर बनाएको फोटो फेसबुकमा राखेकी छिन्। हाँस्य कलाकार केदार प्रसाद घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा दुई वटा फोटो सार्वजनिक गरेका छन्। फोटोको क्याप्सनमा लेखेका छन्, साँच्चिकै बुढो, माग्ने बुढो।’ अभिनेता आयुष्मान देशराज जोशीसम्मले सामाजिक सञ्जालमा आफ्नो बुढो रूप सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुकको ‘माई स्टोरी’ मार्फत आफ्नो बुढ्यौली रूप सार्वजनिक गरेका हुन्। जसमा उनको कपाल र दाह्री सेतो देखिएको छ।

अभिनेत्री सुरक्षा पन्तले फेस एपमा रुचि नभएको र असुरक्षित भएको बताउँछिन्। ‘मलाई यस्तो एपहरू खासै मनपर्दैन्। फेरि यो एप असुरक्षित भएकाले व्यक्तिगत गोप्यताहरू सुरक्षित नहुन सक्छ,’ उनले भनिन्। बलिउड अभिनेता शाहरुख खान, अजुन कपुर, वरुण धवन, सोनाक्षी सिन्हा, आयुष्मान खुराना, नरगिस फाखरी र हुमा कुरेशी लगायतले यो एपको प्रयोग गरेर बनाएको फोटो सामाजिक सञ्जालमा राखेका छन्।

सन् २०१७ मा रसियाले सार्वजनिक गरेको फेस एपको फिचरका कारण चर्चा पाएको हो। वास्तविक उमेरभन्दा तीन गुनासम्म उमेरको अनुहारमा परिवर्तन गर्ने भएकाले ओल्ड एज फिचर बढी प्रयोग भइरहेको छ। फेस एपले तन्नेरी अनुहारलाई वृद्ध, चाउरिएको अनुहारमा परिवर्तन गर्ने भएकाले अधिकांशले यो एप रुचाएको पाइन्छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राम लगायतका यो एपको क्रेज ह्वात्तै बढेको छ।

 

प्रकाशित: ३ श्रावण २०७६ ०३:५२ शुक्रबार

दीपकराज_गिरी अभिनेता सामाजिक_सञ्जाल फेस_एप