कला

अनि अस्ताइन् योगमाया

काठमाडौं  – पूर्वी नेपालको भोजपुरकी सामाजिक अभियन्ताका रूपमा परिचित योगमायालाई अहिले पनि एउटा क्रान्तिकारी सामाजिक योद्धाका रूपमा लिइन्छ। तत्कालीन राणाकालिन शासनको परिवेशमा जातीय भेदभाव, समाज सुधार, सतीप्रथा अन्त्यमा उनले गरेको आन्दोलन वर्तमान समयमा पनि इतिहासका पानामा सुरक्षित छन्। यिनै योगमाया यतिबेला राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा हरेक दिन झुल्किरहेकी छन्।

नीलम कार्की निहारिकाको ‘मदन पुरस्कार’ प्राप्त कृति ‘योगमाया’मा आधारित नाटक ‘योगमाया’मा दर्शकले राणाशासनको दासता, योगमायाको संघर्ष, उनलाई स्थानीय समुदायले दिएको साथ र त्यागका अनेक पाटालाई नजिकबाट नियाल्न पाउँछन्। योगमायाका बारेमा पुस्तकमा पढेर ज्ञान लिएका दर्शकले नाटक हेरिसकेपछि उनका भोगाईलाई बुझ्ने मौका पनि पाउँछन्।

नाटकको सुरुवात नाटकका गोपीकृष्ण पात्रले कमिनीसँग अन्तरजातीय विवाह गरेपछि त्यो विषयको न्यायनिसाफ गर्न भेला भएका गाउँलेको दृश्यबाट नाटकको कथा सुरु हुन्छ। पूरोहितले गोपीकृष्णलाई ‘तँ कमिनी रोज्छस् कि समाज?’ भनेर सोध्दा उसले ‘म प्रेम चाहन्छु’ भनेपछि उनलाई कालोमोसो र जुत्ताको माला लगाएर जनै चुडाइदिने काम गरिन्छ।

गाउँ भेलाबाट सुरु भएको नाटकका हरेक दृश्य कौतुहल लाग्दा छन्। नाटकमा कुवामा पानी लिन जाँदा महिलाहरूले कुरा काट्ने प्रवृत्तिलाई पनि देखाइएको छ। तत्कालीन समाजमा राणा सरकारको जगजगी रहँदा त्यही हैकम शैलीमा स्थानीय ब्राम्हण पुरोहितको व्यवहारलाई पनि नाटकमा देखाइएको छ।

नाटकमा कलाकार मिथिला शर्मालाई योगमायाको चरित्रमा प्रस्तुत गरिएको छ। सेतो पहिरन र सेतो टिकासँगै हातमा वादन बोकेर उनी कवितात्मक शैलीमा आफ्ना संवाद बोल्छिन्। आफ्नी छोरी विवाह गरेर गएको केही सातामै ज्वाईंको निधन भएको खबर सुन्दा योगमायामा कुनै विक्षिप्तता देखिँदैन। छोरीको विवाह गर्ने योजना बनाइरहँदा छोरीले आफू सन्यास लिन चाहन्छु भन्ने दृश्य निकै कारुणिक छ।

जुद्ध शमशेरको शासनकालको पृष्ठभूमिमा तयार भएको नाटकमा तत्कालीन राजाले जनतालाई ढाँटेको विषयलाई पनि नाटकमा देखाइएको छ। तत्कालीन शासकको दरबारसम्म जनता लिएर गएकी योगमायाले धर्मराज्यसँगै धर्मभिक्षा मागे पनि राजाले धर्मराज्यबाहेक धर्मभिक्षा दिन्छन्। यो कुरामा चित्त नबुझेपछि उनी जनता लिएर पुनः गाउँ फर्किन्छिन्।

आफ्ना समर्थकसँगै आफू पनि अग्नीकुण्डमा होमिन तयार भइरहँदा राजाले त्यो कार्यलाई रोक्दै उनीहरूलाई जेल पठाउँछन्। जेलबाट निस्किएपछि योगमाया र उनका अनुयायीहरूले विद्रोहको नयाँ रूपलाई अंगाल्दै जलसमाधीमा देहत्याग गर्छन्। तत्कालीन समयमा योगमायासहित २ सय ४० जनाले भोजपुरको अरुण नदीमा सामूहिक देहत्याग गरेका थिए।

नाटकका निर्देशक टंक चौलागाईंले नाटकका पात्रलाई तत्कालीन समय अनुसारको भेषभुषा र बोल्ने शैलीमा प्रस्तुत गरेका छन्। गाउँलेको सोझो रूप होस् या राजाका सैनिकका उग्र रूप, दृश्य अनुसार उनीहरूको अभिनय राम्रो छ। योगमायाको भूमिकामा देखिएकी कलाकार मिथिला शर्माको अभिनय अब्बल छ। झन्डै दुई दशकपछि नाट्य अभिनयमा फर्किएकी मिथिलाले आफ्नो अभिनय क्षमतालाई जीवन्त बनाएकी छन्।

नाटक राम्रो हुँदा हुँदै पनि समय समयमा कलाकारको बोल्ने शैली दर्शकलाई चर्को लाग्छ। मिथिलाको कवितात्मक बोल्ने संवाद कहीकतै अलिक नबुझिने झैं लाग्छ। सांग्रिला फाउन्डेसन र स्कुल थिएटर नेपालको प्रस्तुतिमा मञ्चन भइरहेको नाटकमा मिथिला शर्मा, प्रकेश सिन्धुलीय, प्रल्हाद खरेल, प्रभाकर न्यौपाने, श्याम खड्का, राधा श्रेष्ठ, राजथ न्यौपाने, दीपिका ढकाल, आकांक्षा जिसी, सुमन कुइँकेल, सरस्वती अधिकारी, पुष्पराज अवस्थी, सुवास तिमल्सिना, सगुन पोखरेल, सुमित तामाङ, दीपमाला परियार, सुरेन्द्र क्षेत्री, सुरज तमु, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, उन्नतजंग उप्रेती, प्रसन्न हुमागाईं, संयोग दाहाल, काव्य बराल, आकार थापा, क्विनचम जोशी, शुभेच्छा तिमल्सिना र सम्पन्न दाहालको अभिनय छ। नाटक असार १६ गतेसम्म मञ्चन हुनेछ।

प्रकाशित: ८ असार २०७६ ०६:३७ आइतबार

सामाजिक_अभियन्ता योगमाया