कला

आमिरसँग तेस्रोपटक करिना

मुम्बई – केही दिनयता भारतीय फिल्म बजारमा आमिर खान र करिना कपुर खान पुनः एकपटक दर्शकमाझ आउने चर्चा खुबै चलेको थियो। यो विषयमा आधिकारिक रूपमा कहीँकतैबाट सत्यता सार्वजनिक नभइरहँदा अब भने यो जोडी पुनः एकपटक रोमान्स गर्ने निश्चित भएको छ। समाचारअनुसार यो जोडी फिल्म ‘लालसिंह चड्डा’मा पुनः देखिन लागेका हुन्।

आमिरको यो फिल्मको निर्देशन अद्वैत चन्दन गर्दैछन्। फिल्मको स्क्रिप्ट अतुल कुलकर्णीले लेखेका हुन्। फिल्मलाई वायकोम स्टूडियोज र आमिर खानको प्रोडक्सनले निर्माण गर्दैछ। फिल्म यसै वर्षको अन्त्यमा फ्लोरमा जाने फिल्म आगामी २०२० को क्रिसमसमा रिलिज हुनेछ। यो हलिउडको ओस्कार विजेता फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो।

हलिउड फिल्म ‘फरेस्ट गम्प’ सन् १९९४ मा रिलिज भएको थियो। यो फिल्म आइक्यू कम भएको एक युवाको कथामा आधारित छ। आइक्यू कम हुँदा पनि उनी कसरी आफ्नो जिन्दगीको ठूलो भन्दा ठूलो समस्या पार गर्दै विजय हासिल गर्छ भन्ने कुरा देखाइएको छ। फिल्मले कैयौं विधामा ओस्कार अवार्ड जितेको थियो। फिल्मको प्रमुख भूमिकामा टम ह्याङ्क्स थिए। अब आमिर टमको भूमिकामा देखिनेछन्। फिल्ममा रोबिन नाइटले निभाएको नायिकाको भूमिकामा करिना प्रस्तुत हुँदैछिन्। आमिर र करिनाले यसअघि फिल्म ‘३ इडियट्स’ र ‘तलाश’मा सँगै काम गरिसकेका छन्। यो फिल्ममा उनीहरूलाई दर्शकले निकै रुचाएका थिए।

 

प्रकाशित: ८ असार २०७६ ०६:२७ आइतबार

भारतीय_फिल्म_बजार आमिर करिना_कपुर