कला

कलामा झल्कियो भोटेकोसी सभ्यता

ललितपुर – भोटेकोसी नदीको वरपर विकास भएको सभ्यतालाई प्रचारप्रसार गर्ने उद्देश्यका कला प्रदर्शनी सुरु भएको छ। पाटन संग्रहालयमा जैमिन थैपी नारायण परोकार केन्द्र र भोटेकोसी गाउँपालिकाको आयोजनामा भएको चार दिने प्रदर्शनीको हालै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गरे।

उनले कलाकारले भोटेकोसी सभ्यतालाई चित्रमा उतारेर प्रशंसनीय कार्य गरेको बताए। ‘कला संस्कृतिको विकासविना राज्य समृद्ध बन्न सक्दैनन्। यसको विकासका लागि आयोजक र कलाकारले गरेको काम सराहनीय रहेको छ’, उनले भने। जैमन थैपी नारायण मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष मेखबहादुर खड्काले सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक रूपमा फुल्पिङकट्टीस्थित नारायण मन्दिर र यसको सेरोफेरो निकै महत्वको रहेको बताए। परोपकार केन्द्रका अध्यक्ष अनेश नेपालले भोटेकोसी सभ्यतालाई देश विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ कार्यशाला तथा प्रदर्शनीको आयोजना गरिएको बताए। ‘प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौं’, उनले भने, ‘ प्रदर्शनीपश्चात् भोटकोशी सभ्यताको गहन खोजबिन हुने अपेक्षा राखेका छौं।’

प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौं।

प्रदर्शनी अवलोकन गर्न पाटन संग्रहालय पुगेका भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले प्रदर्शनीले पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘भोटेकोसी सभ्यता र संस्कृतिलाई कलामार्फत कलाकारले चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। संस्कृति, पर्यटन, पुरातात्विक, जातीय विविधता तथा प्राकृतिक रूपमा भोटेकोसी समृद्ध छ। यसको विकास र प्रवद्र्धनमा चित्रमार्फत कलाकारले गरेको कार्य प्रशंसनीय छ’, उनले भने।

कलाकार दिवेश प्रधानले कलामार्फत समाजमा रहेका सांस्कृतिक वैभवलाई बाहिर ल्याउने रहेको बताए। उनले समृद्ध नेपाल बनाउने अभियानमा कलाकारले योगदान दिनुपर्छ भन्ने ध्येय राखेर कार्यशाला तथा प्रदर्शनी गरिएको जिकिर गरे। कलाकार राकेशचन्द्र श्रेष्ठले चित्रमा भोटेकोसी सभ्यताका महत्वपूर्ण स्थल र सम्पदालाई उतारिएको बताए। कार्यशाला तथा प्रदर्शनीका संयोजक प्रकाश खडकाले भोटेकोसीको सभ्यताको उत्खननमा सहयोग पुगोस् भन्ने हेतुका साथ कार्यक्रमको आयोजना गरिएको बताए।

प्रदर्शनीमा विकास विशुंखे, विक्रम प्रजापति, चन्द्रा श्रेष्ठ, देवेन्द्र थुम्केली, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, दिवेश प्रधान, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद खोटेजा, प्रकाश मानन्धर, राधेश्याम कर्माचार्य, राजेन्द्रप्रसाद याकामी, सुर्यराम सुवाल, अनत्त श्रेष्ठाचार्यले तयार पारेका कलाकृति राखिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीस्थित नारायण मन्दिरलाई आधार बनाई गत वैशाख ९ देखि ११ गतेसम्म चित्र कार्यशाला गरिएको थियो।

प्रकाशित: २९ जेष्ठ २०७६ ०३:४६ बुधबार

कला_प्रदर्शनी संग्रहालय भोटेकोसी_सभ्यता