कला

चैतन्यको पुस्तक आउँदै

काठमाडौं – समाजशास्त्री प्राडा. चैतन्य मिश्रको गैर–आख्यान पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ असारबाट पाठकमाझ आउने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर पुस्तक प्रकाशक बुक–हिल पब्लिकेसनले पुस्तकको आवरण सार्वजनिक गर्दै पुस्तकमा नेपालको राजनीतिक उतारचढावलाई समाजशास्त्रीय दृष्टिबाट हेर्दा देखिएका विषयबस्तु समेटिएको जनाएको छ ।

पुस्तकबारे लेखक मिश्रले परम्परागत समाजशास्त्रअन्तर्गत अर्थतन्त्र, राजनीति, इतिहासको साँध सिमाना जोडिएको र जेलिएको थलो बन्न पुगेको उल्लेख गरेका छन् । ‘वृहत् विश्वको लामो इतिहासमा के–के कसरी, कुन कारणले भयो वा भएन भन्ने सैद्धान्तिक अध्ययन र विश्लेषणको समेत आधारमा नेपालको विगतबारे, खास गरेर वर्तमान समाज, अर्थतन्त्र, राजनीति, विकासबारे खोजी पस्ने काम भयो’, उनले भनेका छन्, ‘२०–२५ वर्षभित्र नेपाल जुन राजनीतिक उथलपुथलबाट गुज्रियो । त्यसैको परिणति हो यो पुस्तक । पुस्तकमा मैले लोकतन्त्रको जरोको रेखाङ्कन, माओवादी राजनीति र ‘जनयुद्ध’, दलतन्त्र, सामाजिक लोकतन्त्र र सामाजिक लोकतन्त्रकै पक्षपोषण गर्ने क्रममा समेत माक्र्सवादी, सोभियत, चिनियाँलगायत अन्य केही खाले ‘समाजवाद’ र साम्यवादको खण्डन गर्ने प्रयास गरेको छु ।’

पुस्तकका सम्पादक राजेन्द्र महर्जनले एकात्मक निर्दलीय पञ्चायती व्यवस्थादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाली राजनीतिको तीव्र रूपान्तरण, बदलिँदो नेपाली राजनीतिको मियो बनेको राजनीतिक लोकतन्त्रका आर्थिक–सामाजिक जरा खोतल्दै भावी राजनीतिक–आर्थिक–सांस्कृतिक दिशा तय गर्ने आशयतिर पुस्तक केन्द्रीत रहेको बताए। त्रिभूवन विश्वविद्यालयमा ३७ वर्ष अध्यापन गरेका मिश्र हालै ‘नीति अनुसन्धान प्रतिष्ठान’ (पोलिसी रिसर्च इन्स्टिच्यूट)को कार्यकारी अध्यक्षबाट राजीनामा दिएर चर्चामा छन् ।
 

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:२३ सोमबार

समाजशास्त्री लोकतन्त्र माक्रसवाद