कला

रिमाको ‘मिस्टर नेपाली’ भुवन

काठमाडौं – पछिल्लो समयमा फिल्म निर्माणमा व्यस्त अभिनेता भुवन केसी अब दोहोरो भूमिकामा दर्शकमाझ आउने भएका छन्। देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्म ‘मिस्टर नेपाली’मा भुवन दोहोरो भूमिकामा देखिन लागेका हुन्। राजधानीमा सोमबार एक कार्यक्रम गर्दै फिल्मको घोषणासँगै सोमबारबाटै छायांकन सुरु भएको जानकारी दिइयो।

नवलपरासीबाट छायांकन सुरु भएको फिल्ममा प्रेमराज दाहालको निर्माण र देवनारायण भुषालको ‘डेब्यू’ लेखन तथा निर्देशन छ। नायक भुवनले फिल्ममा आफु राम्रो र नराम्रो भूमिकामा देखिने खुलाए। ‘फिल्ममा दोहोरो भूमिकामा देखिँदैछु। एउटा भूमिका चाहिँ नराम्रो किसिमको छ’, उनले भने, ‘निर्माता र निर्देशकसँग अमेरिकाको टेक्ससमा फिल्म ‘ड्रिम्स’ रिलिजको बेला भेट भएको थियो। त्यो भेटले आज फिल्म खेल्ने वातावरण बनाइदियो।’ भुवनले फिल्मले राष्ट्रियताको कथा बोकेकोले आफू फिल्म खेल्न तयार भएको बताए।

फिल्ममा भुवनको जोडीका रूपमा रिमा विश्वकर्मा देखिँदैछिन्। फिल्ममा रिमासँगै विष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र  गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको पनि अभिनय रहनेछ। यही फिल्ममार्फत साहिल श्रेष्ठ र कुसुम राउत अभिनयमा ‘डेब्यू’ गर्दैछन्।

फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य छ। निर्देशक भुषालले फिल्मले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्ने बताए। ‘यो विशुद्ध मनोरञ्जनात्मक फिल्म हो। तर, यसले विशेषगरि विदेशमा रहेका नेपालीहरूमा नेपालप्रतिको मायालाई झल्काउनेछ’, उनले भने।

 

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:०४ मंगलबार

फिल्म_निर्माण अभिनेता भुवन_केसी मिस्टर_नेपाली