काठमाडौं– किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ।
सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो। आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समुदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए।
उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशीसहित बरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गर्ने संगठनको निर्णय पनि आज सार्वजनिक गरिएको हो। त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद रु तीस हजार राशिसहित बरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद रु बीस हजार राशीसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जानकारी दियो।
आजको पत्रकार सम्मेलनमा कन्काईष्ट राई, कला राई, पार्वन राईलगायतको उपस्थिति रहेको थियो।
प्रकाशित: २० जेष्ठ २०७६ १३:४९ सोमबार