कला

‘काउसो’मा एक्सन र कमेडी

काठमाडौं– कमेडी र एक्सन फ्लेभरमा निर्मित फिल्म ‘काउसो’ आगामी शुक्रबार अर्थात् जेठ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ। फिल्म युनिटले गत शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रिलिजको लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताएको हो।

फिल्मका निर्देशक मदन घिमिरेले फिल्मले रातारात धनी बन्ने सपना बोकेको युवाको कथा प्रस्तुत गर्ने बताए। ‘उपत्यका बाहिरबाट आएर काठमाडौंमा बस्ने युवाको कथालाई फिल्ममा प्रस्तुत गरेका छौं। जसले रातारात धनी बन्ने सपना बुनेको हुन्छ’, उनले भने, ‘मैले बनाई रहेका फिल्मको भन्दा पृथक कथा काउसोमा छ। फिल्ममा एक्सन र कमेडी पाटोलाई पनि हेर्न पाउनुहुनेछ।’

फिल्मका नायक सविन श्रेष्ठले फिल्ममा आफु हास्य प्रधान एक्सन भूमिकामा प्रस्तुत भएको बताए। उनले दर्शकले विगतका फिल्म भन्दा ‘काउसो’मा आफुलाई फरक भूमिकामा पाउने जनाए। अर्का कलाकार ए गुरुङले फिल्मबाट आफुले दर्शकलाई मज्जाले हसाउने दाबी गरे।

अर्नभ फिल्मस प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ,  रमेश बुढाथोकी, रामचन्द्र अधिकारी,  नविन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनिका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली, असिम तिमल्सिनाको अभिनय छ।

अर्नभ बस्नेत प्र्रस्तुतकर्ता रहेको फिल्ममा राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ‘ज्याक’ र भगवान खत्री निर्माता छन्। फिल्ममा विकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य, रामेश्वर हुमागाईंको छायांकन र नविन निरौलाको सम्पादन छ।

 

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:४३ सोमबार

‘काउसो’