कला

‘चुचुरोमा घरपरिवारको सम्झना आउँदैन्’

कामीरिता(दायाँ)सँग कपनस्थित घरमा रमाउँदै लाक्पा। तस्बिरः उपेन्द्र/नागरिक

काठमाडौं– ‘उनीसँगै मेरो मनपनि सगरमाथा चढिरहेको हुन्छ’, एक साताअघि नागरिकसँगको कुराकानीमा कामीरिताकी श्रीमती लाक्पा शेर्पाले भनेकी थिइन्, ‘उहाँ नआउन्जेल मुटु चिसो भइरहन्छ।’ २४ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका कामीरिताको शनिबार घर आगमनसँगै उनको  मुटु फुरुङ्ग भएको छ। आइतबार कपनस्थित कामीरिताको डेरामा पुग्दा लाक्पाले हँसिलो अनुहारले स्वागत गरिन्।   ‘उहाँ नै मेरो सगरमाथा,’ उनले हाँस्दै भनिन्, ‘उहाँ टाकुरामा पुगेको दिनभन्दा उहाँ घरमा आएको क्षण मेरा लागि ठूलो भयो।’

उनी बेसक्याम्पसम्म त पुगेकी छन्। सगरमाथा चढेकी छैनन्। तर पतिको सफलताबाट खुसी छिन्। उनका लागि संसारको सबैभन्दा अग्लो मान्छे कामीरिता नै भएका छन्। ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा एकै सातामा दुई पटक चढेर आएका कामीरिता पनि श्रीमतीको खुसीसँगै दंग छन्। ‘सगरमाथा चढ्नु त मेरो काम हो’, उनले भने, ‘परिवासँगको भेटले मलाई सगरमाथा चढेकोभन्दा बढी खुसी दिन्छ।’ उनले आफू सगरमाथा चढ्दा श्रीमतीले आफूलाई जति सम्झेपनि आफू भने चुुचुरोमा सँगै गएका साथीहरूको जीवन जोगाउन तल्लीन रहने उनले सुनाए। ‘चुचुरोमा घरपरिवारको सम्झना आउँदैन्’, उनले भने, ‘त्यहाँ सगरमाथा नै चढ्ने र आफ्नो कर्तव्य निभाउने ध्याउन्नमात्रै  हुन्छ।’

सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामीरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ। अर्को वर्ष उमेरले ५० पुग्ने र सगरमाथा २५ पटक चुमेर रजत जयन्ती मनाउने उनको सोच छ।

सन् १९९४ मा २४ वर्षको उमेरमा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामीरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ। अर्को वर्ष उमेरले ५० पुग्ने र सगरमाथा २५ पटक चुमेर रजत जयन्ती मनाउने उनको सोच छ।


उनले ‘किन यति धेरै पटक सगरमाथा?’ भनेर धेरैले प्रश्न गर्ने गरेको सुनाए। ‘शेर्पाले सगरमाथा नचढे, पत्रकारले समाचार नलेखे अनि पाइलटल जहाज नउडाए के गर्ने?’ ‘किन यत्रो पटक सगरमाथा?’ भन्ने प्रश्न खस्न नपाउँदै उनले भने, ‘सगरमाथा मेरो गाउँ हो। त्यहाँ पुग्दा मलाई खुसी लाग्छ।’

उनी आफूहरूले सगरमाथा आरोहण गरेका कारण नै संसारभरका पर्यटक चुुचुरोमा पुग्न सफल भएको बताउँछन्। ‘हामी आफूसँगै पर्यटकलाई पनि चुचुरोमा पु¥याउँदै आएका छौं’, उनले भने, ‘यो शेर्पा समुदायको दायित्व हो।’ आफूहरूले आफ्नो दायित्व राम्रोसँग निभाए पनि सरकारले भने शेर्पाको हितको लागि काम नगरेको उनको गुनासो छ।
उनले जतिपटक आरोहण गरेपनि जोखिम उत्तिकै रहने सुनाए। त्यसैले आफूले जिन्दगीमा जति दुःख गरेपनि आफ्नो दुई सन्तानले सगरमाथा नचढ्ने उनी सुनाउँछन। ‘म मेरो कमाईले उनीहरूलाई शिक्षा दिलाउन चाहन्छु’, उनले भने, ‘भोली उनीहरूले  सफलताका अन्य शिखर चुुमुुन भन्ने चाहन्छु।’

सगरमाथामा ट्राफिक जामको कुरालाई उनी सामान्य मान्छन्। मौसम खुलेपछि सबैको एकैपटक चुचुरोमा पुग्ने चाहनाले जाम हुने गरेपनि त्यस कारणले जीवन जोखिममा भने नपर्ने उनी बताउँछन। ‘जाम यो पहिलोपल्ट हैन’, उनले भने, ‘जामले हैन। जसरी पनि चुुचुरोमा पुग्ने जिद्धीले आरोहीको ज्यान जाने गरेको छ।’

चिनियाँ र भारतीय टोलीको नेतृृत्व गर्दै एकै सातामा दुई पटक चुचुरोमा पुगेका शेर्पाले भारतीय आरोही अलि जिद्धी हुने गरेको सुनाए। ‘आफ्नो अवस्थालाई ख्याल नगरेर जसरी पनि टुप्पोमा पुग्ने उनीहरूको जिद्धी हुन्छ’, उनले भने, ‘यस्ता जिद्धीले धेरैको जीवन जोखिममा पर्ने गरेको हो।’  अघिल्लो बुधबारमात्रै २३ औ पटकको कीर्तिमान बनाएका उनले पुनः आफ्नै रेकर्ड तोड्दै मंगलबार बिहान २४ औं पटकको कीर्तिमान बनाएका हुन्। तिब्बती मोहडाबाट समेत सगरमाथा आरोहण गरेका उनले नेपालतिरबाट सगरमाथा चढ्नुको रमाइलो बेग्लै रहेको बताए। ‘जोखिमसँगै रमाइलो पनि छ’, उनले भने, ‘त्यसैले नेपालतर्फबाट सगरमाथा चढ्न सबै उत्सुक रहन्छ।’

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:३२ सोमबार

सगरमाथा कामीरिता_शेर्पा