कला

‘कीर्तिपुर’मा कीर्तिपुर आक्रमणको कथा

काठमाडौं - तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयलाई प्रस्तुत गरिएको फिल्म ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनका लागि तयार भएको छ। फिल्मका निर्देशक प्रदीप खड्गीले फिल्म सेन्सरबाट पास भइसकेकाले आगामी असार १३ लाई प्रदर्शन मिति तोकिएको बताए।

उनका अनुसार मंसिरको पहिलो साता चलचित्र विकास बोर्डको हलमा फिल्मलाई सेन्सरको लागि देखाइएको थियो। सञ्चार, संस्कृति र गृह मन्त्रालयका प्रतिनिधि तथा कलाकारमाझ पुनः देखाएर सेन्सर पास गराइएपछि प्रदर्शनको मिति गरिएको हो।

स्व. बासु पासाद्वारा रचित ‘भैरवसिंह’ नामक ऐतिहासिक उपन्यासमा आधारित फिल्मलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरू फिल्मको शुरुमै राखिएको छ। निर्माण पक्षले कालखण्डमा प्रकाशन भएका देशीविदेशी लेखकका ऐतिहासिक दस्तावेजसहितको पुस्तकलाई समेत फिल्मको आधार बनाएको छ।

प्रदीप र केके मानन्धरको पटकथा रहेको फिल्ममा हिसिला महर्जन, मणि राजलवट, यशराज गराच, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पण्डित, अन्जला नकर्मी, मञ्जु श्रेष्ठ, विनोद श्रेष्ठ, सञ्जय शर्मालगायतका कलाकारहरूको अभिनय छ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको फिल्ममा ९० प्रतिशत भीएफएक्स, एनिमेशन गरिएको छ। सन्तोष केसीको एनिमेसन रहेको फिल्ममा हरिशरण सायमीको संगीत, उदय श्रेष्ठको द्वन्द्व, शंकर महर्जन र नविन जोशीको छायांकन छ। फिल्मका कार्यकारी निर्मातामा वीरेन्द्र ताम्राकार र प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता छन्।

फिल्मका कला निर्देशक केके मानन्धरले सेन्सर पासको लागि लामो अवधिसम्मको कुराइले रिलिज ढिलो हुन पुगेको बताए। उनले चलचित्र सेन्सर गराउन तत्कालीन सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालसँग पनि गुहार माग्नुपरेको खुलाए। ‘स्वाभाविक सहज ढंगले सकिनुपर्ने नियमित काममा सम्बन्धित पक्षले आनाकानी गर्नु जायज होइन’, उनले भने।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App