कला

१२ वर्षपछि म्यूजिक भिडियो

सोलुखुम्बु– सामान्यतया जोकोही गायकगायिका आफुले गाएको गीतलाई तुरुन्तै भिडियो बनाएर दर्शकमाझ ल्याइहाल्छन्। तर यो मामलामा सोलुखुम्बुका गायक तथा संगीतकार जसिहाङ राई अलिक फरक निस्किए। उनले १२ वर्ष अघि गाएको गीत ‘दिनै जसो’को भिडियो हालै मात्र निर्माण गरेर युट्युबमा सार्वजनिक गरेका छन्।

जिल्लाको नेचासल्यान गाउँपालिका ४ नेचामा जन्मेका राईले २०६४ सालमा निकालेको एल्बम ‘अर्थ भित्र’मा समावेस ‘दिनै जसो’बोलको सेलो गीतको भिडियो अघिल्लो महिना डिजिटल बजारमा ल्याएका हुन्।

त्यसबेला अडियोको जमाना भएकाले पनि भिडियो बनाइएन। अहिले गीत सुनाउन पनि भिडियो अनिवार्य भएकाले पनि साथीभाइकै सल्लाहमा पुरानो गीतको नयाँ भिडियो लिएर आएको हुँ।


धौलागिरी क्यासेट सेन्टरबाट बजार व्यवस्थापन गरेको एल्बममा ‘कहाँ जान्छौ यात्री’, ‘यस्तो गीत गाउन सकुँ’लगायतका आठ सेलो गीत समावेस थिए। ‘त्यसबेला अडियोको जमाना भएकाले पनि भिडियो बनाइएन’, गायक तथा संगीतकार राईले भने, ‘अहिले गीत सुनाउन पनि भिडियो अनिवार्य भएकाले पनि साथीभाइकै सल्लाहमा पुरानो गीतको नयाँ भिडियो लिएर आएको हुँ।’ गायक राईले गीतको शब्द, संगीत र गायन तिनै पक्ष अब्बल भएकाले दर्शकले मन पराउने आशा व्यक्त गरे।

इलामका तुलसी बस्नेतको गीत र सचिन सिंहको संगीत रहेको गीतको भिडियोलाई गाउँले इन्टरटेनमेन्टले बजारमा ल्याएको हो। देवराज गुरुङको निर्देशनमा तयार भएको भिडियोमा देवराज, सुमन, अनिसा र संगीताले अभिनय गरेका छन्। भिडियोमा गंगाराम राईको छायांकन छ।

२०५० सालदेखि संगीतसाधनामा तल्लिन राईले छिट्टै एकल संगीतको सोलो एल्बम ल्याउने तयारी गरिरहेका छन्। नाम नजुरीसकेको एल्बममा प्रमोद खरेल, दीपक लिम्बु लगायतका गायकगायिकाले स्वर दिएका छन्।

प्रकाशित: ८ जेष्ठ २०७६ ०६:१७ बुधबार

एल्बम जसिहाङ_राई भिडियाे