कला

आँधीले फेरिएको एउटा नृत्य

काठमाडौं - एउटा राम्रो नाटक वा फिल्म बन्न चाहिने विषय भनेको राम्रो कथा र परिपक्क अभिनय नै हो। नाटक वा फिल्ममा पाइने यी दुई तत्वले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँछ। अझ आफ्नो परिवार, समाजमा दैनिक रूपमा देखिइरहने विविध गतिविधिले पनि दर्शकलाई त्यस्तै कथा र विषयको नाटक वा फिल्म हेर्न रुची जगाउँछ।

राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘आँधीको मनोरम नृत्य’ हेर्दा एउटा राम्रो कथाको फिल्म हेरेजस्तै भान हुन्छ। नाटक हेरिरहँदा अधिकांश समय दर्शक हाँस्छन् र बाँकी समय मौन रहन्छन्। कलाकारको कहिले उट्पट्याङ अभिनय त कहिले गम्भीर भावले दर्शकलाई हाँसो सँगै भावुक पनि बनाइदिन्छ।

नाटकको शुभारम्भ एक विद्यालयको बसबाट सुरु हुन्छ। जहाँ विद्यालय जाँदै गरेका विद्यार्थी र शिक्षक शिक्षिका देखिन्छन्। कोही बुढी औला चुस्दै, कोही गोजीमा हात राख्दै त कोही आफ्नै शैलीमा आउने विद्यार्थीहरूको त्यो दृश्यले उनीहरू ‘मन्टेश्वरी’का विद्यार्थीहरू हुन् भन्ने कुरामा शंका छैन। उनीहरू नाचिरहँदा त्यहाँ बज्ने ‘ह्वील्स अन द बस’ गीतले विद्यार्थीहरू मन्टेश्वरीकै हो भन्ने पुष्टि गरेको छ। विद्यार्थीहरूले रुने, झगडाको काम शुरु गरेपछि शिक्षकशिक्षिकाले त्यसलाई शान्त पार्छन। यही शान्तको मौका छोप्दै शिक्षकशिक्षिका नै मोबाइलमा सेल्फी खिच्न व्यस्त हुन्छन्।

यही क्रममा ती विद्यार्थीहरूलाई वयस्क रूपमा प्रस्तुत गरिन्छ। उनीहरू अभिभावकको मोबाइल चोरेर अश्लिल भिडियो हेर्ने, साथीसँग चुरोट तान्ने गतिविधिमा संलग्न हुन्छन्। दुई पुरुष कलाकारमध्ये एक कलाकारले ‘ला चुरोट खा, अहिले ठूला–ठूला मान्छेहरू जति छन् नि सब यही खाएर त ठूला भएका हुन्।’ भन्दै चुरोट खाने उक्साउँछन्। दुई पुरुष कलाकारले चुरोट तानिरहेको देखेपछि एक महिला कलाकार आएर त्यही चुरोट खोसेर आफै तान्न थाल्छिन्। महिला भएर चुरोट खानुहुँदैन भन्ने सोचलाई व्यंग्य गर्दै उनले ‘म पनि चुरोट तान्न सक्छु’ भन्ने शैली प्रस्तुत गर्छिन्।

घरायसी बन्धनमा रहेका सन्तानहरू घरबाट निस्किएपछिको स्वतन्त्रता अनुभव कसरी गर्छन् भन्ने दृश्यलाई पनि नाटकमा देखाइएको छ। विद्यालयमा विद्यार्थीबीचको रोमान्टिक दृश्य, प्रेमको चियोचर्चो, साथीको खिसी गर्ने, साथीको गतिविधिमा चासो राख्ने दृश्य पनि राखिएका छन्। यो दृश्य हेरिरहँदा विद्यार्थीहरूले स्वतन्त्रताको अनुभव कति सीमासम्म गर्न सक्छन् भन्ने प्रष्ट बुझ्न सकिन्छ।

यो नाटकमा शिक्षकशिक्षिकालाई पनि व्यंग्य गरिएको छ। उनीहरूले आफुले विद्यार्थीको हरेक गतिविधि नियन्त्रण गर्न ‘ठेक्का’ लिएको जस्तो व्यवहार गर्छन्। एक दृश्यमा भेला भएका शिक्षिकशिक्षिका आफुहरू विद्यार्थीको व्यवहारबाट आजित भएको कुरा गर्छन्। नाटकमा एउटा महत्वपूर्ण दृश्य झकेन सर नामक शिक्षकको परिवारमा देख्न सकिन्छ। घरमा रक्सी खान बोलाएका आफ्ना सहकर्मी साथीहरूले रक्सीको सुरमा झकेन सरकी श्रीमति र उनकी छोरी निस्सिममाथि गर्न खोजिने दुव्यर्वहारले पनि यौनहिंसाको सम्भाव्यतालाई प्रस्तुत गरेको छ।

आफ्नी श्रीमति र छोरीमाथि अभद्र व्यवहार हुन खोज्दा रक्सीले मातेका झकेन सरले केही थाहा नपाउनुलाई पनि रक्सीको आशक्तपनलाई व्यंग्य गरेको छ। नाटकले अभिभावकले आफ्ना सन्तानलाई संस्कार र अनुशासनमा राख्नुपर्छ भन्ने हो। यी दुई कुराको दायरामा नहुँदा सन्तानहरू कुन हदसम्मको जिन्दगीमा रमाउँछन् भन्ने दृश्यलाई नाटकमा छर्लङ्ग देखाइएको छ। किशोरावस्थामा हुने मानवीय चाहना प्राकृतिक विषय हुन्।

तर त्यसको दायराले सीमा पार गर्दा एउटी युवती र उसको परिवारमा पर्ने बज्रपातलाई निकै संवेदनशिल ढंगले नाटकमा देखाइएको छ। नियमित विद्यालय गइरहेकी छोरी निस्सिम एक्कासी विद्यालय जान नमानेपछि आमाले ‘विद्यालय किन नगएको ?’ भनी सोध्दा निस्सिमले दिएको एउटा जवाफले उसको परिवारमा कति ठूलो बज्रपात पर्छ भन्ने दृश्यले जोकोही दर्शकले समाजमा यस्ता घटनालाई सम्झिन्छन्। निस्सिमले के उत्तर फर्काउँछिन् भन्ने थाहा पाउन दर्शकले नाटक हेर्नैपर्छ।

दर्शक कलाकारको अभिनयले हाँसिरहँदा त्यसको बीच–बीचमा आउने ट्वीस्टले मौन र गम्भीर भन्छन्। जुन दृश्य बनिरहेका फिल्ममा पनि हेर्न पाइन्छ। सन्तान सुख पाएका अभिभावकलाई यो नाटकले परिवार सम्झाईरहँदा अविवाहित दर्शकले भविष्यमा सन्तानलाई कस्तो संस्कारमा हुर्काउनुपर्छ भन्ने गतिलो सन्देश पनि छोडेको छ।

दर्शकलाई नाटकमार्फत विभिन्न सन्देश दिइरहँदा नाटकभित्र केही कमजोर पक्ष नभएका होइनन्। झकेन सरको निम्तो स्वीकारेर उनको घरमा रक्सी खान आउने शिक्षकहरू केही समयमै मातेको दृश्य देख्दा अलिक अपाच्य लाग्छ। नेपाली विषय पढाउन आउने शिक्षकलाई निस्सिमले अंग्रेजीमा उत्तर फर्काउँदा त्यो अनौठो लाग्छ। फिल्ममा सक्कली चुरोटको प्रयोग गरिने चलन पुरानै हो। फिल्ममा जस्तै नाटकमा पनि सक्कली चुरोट राखिएको छ। चुरोटको स्वाद नपाउने दर्शकलाई चुरोटको धुँवाले असर गर्छ भन्ने बुझ्न नसक्नु निर्देशकीय कमजोरी देखिन्छ।

नाटकको नाम ‘आँधीको मनोरम नृत्य’ राखिए पनि नाटकमा विद्यार्थीहरूको गतिविधिलाई हेर्दा उनीहरू नै ‘आँधी’ हो भन्ने प्रस्ट देखिन्छ। विद्यार्थीहरूको कहिले उग्र हुने त कहिले सेलाउने व्यवहारले नै ‘आँधी’को चित्रण गर्छ। नाटकमा घिमिरे युवराज र अमजद प्रवेजको परिकल्पना तथा निर्देशन छ। कलाकारले अभिनय गरिरहँदा त्यहाँ सुनिने गीतमा स्मारिका फुँयाल, नमन चित्रकार, रविन परियार, सन्तोष कपाली, सञ्जय शाही र यशोदा सापकोटाले दृश्य सापेक्षा संयोजन गरेका छन्।

भोलि सोमबारसम्म चल्ने नाटकमा सौभाग्य सिंह (शोभा), सविन कट्टेल, मन्जु श्रेष्ठ, दिवेन कार्की, विमल सम्बाहम्फे, मोहन महत, रविन परियार, संगीता उराव, गोविन्द ओली, सन्जु कार्की, विवेक चौलागाईं, प्रकाश खनाल, सन्तराम पासी, प्रेम खतिवडा, हिमाल भुजेल, सुरेश सार्की, पवित्रा खड्का, झकेन बिसी, ज्याक बराल, निस्सिम श्रेष्ठको अभिनय छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०४:०६ आइतबार

नाटक कथा अभिनय