कला

मुसायरामा आमाको सम्झना

काठमाडौं –
‘छोरालाई हेर्छु कहिल्यै दुखी देख्दिनँ।
आमा सधैँ रुन्छिन् नरमाइलो लाग्छ।

यात्रा छ साह्रै कठिन नरमाइलो लाग्छ।
छैन भविष्य यकिन नरमाइलो लाग्छ।

घाटमा व्यापार गरेर बस्नेहरूलाई,
मान्छे नमरेको दिन नरमाइलो लाग्छ।

संयोगले माता सम्मान दिवस (मातातीर्थ औंसी) का दिन परेको काव्य–मुसायराको १६ औं शृंखलामा गजलगो दिग्गज धौरालीले आमा सम्झेर प्रस्तुत गजल सुनाउँदा घोस्ट राइटिङ नेपालको कुञ्ज थिएटरमा उपस्थित सबैले वाहवाहीमात्र गरेरनन् आमाको माया सम्झेर संवेदित पनि भए। शनिबार एकपछि अर्को मन छुने गजल प्रस्तुत गर्ने क्रममा धौरालीले आयोजकको आग्रह र दर्शक–श्रोताको फर्माइस गरी छानिएका १३ वटा गजल सुनाएका थिए।
सीता बुक्स र रचना वाचन युटुब च्यानलसमेतको सहकार्यमा आयोजित काव्य–मुसायरामा चर्चित कवि÷गीतकार महेश पौडेलले दर्शक–श्रोताको अनुरोधमा आमा–बाबाको सम्झना र माया मिसिएको गीत सुनाए–

‘कत्रो सहर छ तिम्रो चिन्जान हुन्छ–हुन्न ?
बा–आमाजस्तो कोही देखिन्छ देखिँदैन ?

टाढाको सानो घर यो देखिन्छ देखिँदैन ?
मेरो आमाले गाएको गीत हो यो।

मेरो बाबाले गाएको गीत हो यो।’
गजलगो यात्रीप्रकाश पाण्डेको संयोजनमा काव्य–मुसायरा परिवारले ‘टिकट सो’का रूपमा प्रत्येक दुई महिनामा आयोजना गर्ने मुसायराको सो पछिल्लो शृंखलामा कवि÷गीतकार पौडेलले साना–ठुला गरी १७ वटा सिर्जना सुनाएका थिए।

प्रकाशित: २२ वैशाख २०७६ ०२:४१ आइतबार

मुसायरा आमा सम्झना