कला

‘द होलोकस्ट’को सम्झना

बनेपा – द्वितिय विश्वयुद्धको अवधिमा ६० लाखभन्दा बढी यहुदी(जेविस)हरूको नरसंहार भएको स्मृतिमा नेपालस्थित इजरायल दुतावासले बिहीबार काठमाडौं विश्वविद्यालय(केयू)मा वृत्तचित्र र फ्लायरहरूको प्रदर्शनी गरेको छ। कार्यक्रममा इजरायलस्थित द वल्र्ड होलोकस्ट रिमेम्बरेन्स सेन्टरले तयार पारेको ‘द डेभेलपमेन्ट अफ फाइनल सोलुसन’ नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।

त्यस्तै केयू कर्नरस्थित प्रदर्शनीकक्षमा होलोकस्ट नरसंहारबाट बाँचेकाहरूको संस्मरणहरू रहेका ‘बियोण्ड ड््युटी’ शीर्षकमा फ्लायरहरूको प्रदर्शनी पनि गरिएको थियो। केयूका उपकुलपति प्राडा रामकण्ठ माकजु श्रेष्ठ, इजरायली राजदुत बेनी ओमरलगायत ६ जना अतिथिहरूले प्रति १० लाख मृतकहरूको स्मरणमा एउटाका दरले ६ वटा मैनबत्ती बालेका थिए। उपकुलपति माकजुले त्यो समयको जस्तो कहालीलाग्दो मानव नरसंहार अब कहिल्यै नहोस् भन्ने कामनासहित मैनबत्ती बालेको बताए।

इजरायली राजदुत ओमरले यस किसिमको अमानवीय घटना फेरि नदोहोरियोस् र यस्ता नरसंहारबारे भावी पुस्ताले पनि थाहा पाउन भनेर केयूको सहकार्यमा कार्यक्रम गरिएको बताए। ‘यस्तो त्रासदीपूर्ण नरसंहार बिर्सन दिनुहुन्न भन्ने अभिप्रायले होलोकस्टमा मारिएकाहरूको सम्झनामा कार्यक्रमहरू गरिँदै आइएको छ’, उनले भने।

कार्यक्रममा होलोकस्टका बेलामा लेखिएको ‘डायरी अफ अन्ना फ्रान्क’का अनुच्छेदहरूलाई नेपालीमा रूपान्तरण गरि वाचन गरिएको थियो। केयू, उपकुलपति कार्यालय, वैदेशिक मामिला कार्यालयका प्रमुख डा. बीमप्रसाद श्रेष्ठले केयू र इजरायल सरकारबीच शैक्षिक तथा स्वास्थ्य क्षेत्रका अनुसन्धान र विकासका लागि सहकार्य भइरहेको जानकारी दिँदै चाँडै नै केयूमा इजरायली फिल्म फेस्टिभलको आयोजना गर्ने बताए।

प्रकाशित: २० वैशाख २०७६ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App