कला

राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार’

मूर्ति बनाउँदै नेर्पाका मूर्तिकार रोजन राई। तस्बिर: नागरिक

खोटाङ – टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले मूर्तिकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुदलगायतका क्षेत्रमा विशेष योगदान पु-याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गरिने पुरस्कार यस वर्ष मूर्तिकार राईलाई प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

मूर्ति तथा प्रतिमा निर्माण गरेर देशविदेशमा ख्याति कमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका मूर्तिकार राईलाई आगामी वैशाख २१ गते केपीलासगढी गाउँपालिकाको बाक्सिला बजारमा हुने पाँचौं वार्षिकोत्सवको अवसरमा पुरस्कार दिने प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए। मूर्तिकार राईलाई ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार साथमा ताम्रपत्र प्रदान गरिनेछ।

लामो समयदेखि मूर्ति, प्रतिमा निर्माण एवं हस्तकला सम्बन्धी काम गर्दै आएका मूर्तिकार राईले स्वदेश तथा विदेशबाट विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन्। राईले निर्माण गरेका मूर्ति तथा प्रतिमा देशका विभिन्न जिल्लासहित भारतको सिक्किम, हङकङमा समेत स्थापना गरिएको छ।

हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले विभिन्न विद्याका प्रतिभालाई वार्षिक रूपमा पुरस्कृत गर्दै आएको छ। यसअघि २०७२ सालमा कवि चन्द्र रानोहँछा, २०७३ सालमा सितोरियो करातेका खेलाडी सञ्जयकुमार राई र २०७४ सालमा गायिका राधा राईले यो पुरस्कार पाइसकेका छन्।

प्रतिष्ठानको वार्षिकोत्सवमा गायक तथा संगीतकार पदम थुलुङ राईले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका विभिन्न ठाउँबाट संकलन गरिएको किराँती लोपोन्मुख भाका प्रस्तुत गर्नेछन्। यस्तै, ‘अलग अभियान’को साहित्यिक, साइनो कला केन्द्रको सांगीतिक र खोटाङ डान्स क्र्युको नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ। अधिकांश कार्यक्रम साबिकको सदरमुकाम केन्द्रित हुने गरेकामा प्रतिष्ठानले विभिन्न पालिकामा पुगेर वार्षिकोत्सव गर्दै आएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०४:२४ शुक्रबार

टेम्के_तुवाचुङ_प्रतिष्ठान रोजन_राई मूर्तिकार