कला

शान्ति बगैँचामा गुराँसको सट्टा सल्ला

लोठसल्लाको विरुवा रोप्दै राष्ट्रपति भण्डारी। तस्बिर सौजन्यः नरेन्द्र मूल(आईईजी)

बेइजिङ - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेइजिङ एक्स्पो २०१९’ बागवानी प्रदर्शनीमा नेपालको विशेष कक्ष ‘लुम्बिनी शान्ति बगैँचा’को लोठसल्लाको विरुवा रोपेर शुभारम्भ गरेकी छन्। बेइजिङको उत्तर पश्चिममा पर्ने यानछिङ जिल्लामा ‘बेइजिङ एक्स्पो’को गत आइतबार साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन गरेका थिए।

राष्ट्रपति भण्डारीले एक्स्पोभित्रै ‘लुम्बिनी शान्ति बगैँचा’ उद्घाटन गरेपछि चिनियाँ राष्ट्रपति चिनफिङले सम्पूर्ण रूपमा एक्स्पोको उद्घाटन गरेका हुन्। उद्घाटन पहिले राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सीसँगै एक्स्पोको अवलोकन गरेकी थिइन्। एघार मुलुकका राष्ट्रनायक तथा सरकार प्रमुखले भाग लिएको एक्स्पोको उद्घाटन समारोहमा विभिन्न देशमा उच्चस्तरका नौ सय व्यक्तिहरू उपस्थित थिए।

‘हरित जीवन, सुन्दर घर’ विषयमा यो एक्स्पो आगामी १ सय ६२ दिनसम्म चल्ने छ। एक्स्पोमा एक सय दश वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनले आफ्नो सामाग्री प्रदर्शन गरेका छन्। चीनको खुन मिन विश्व बागवानी एक्स्पो, शाङ्हाई विश्व एक्स्पो र पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोपछि चीनले आयोजना गरेको यो सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय एक्स्पो हो।

एक हजार वर्गमिटर क्षेत्रफलमा रहेको नेपाली प्रदर्शनी क्षेत्रमा नेपालको प्रतिनिधित्व हुने गरी ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण भएको हो।

एक्स्पोभित्र नेपाली इन्जिनियर नरेन्द्र मुलको डिजाइनमा ‘लुम्बिनी शान्ति बगैँचा’को निर्माण गरिएको छ। एक हजार वर्गमिटर क्षेत्रफलमा रहेको नेपाली प्रदर्शनी क्षेत्रमा नेपालको प्रतिनिधित्व हुने गरी ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण भएको हो। ‘लुम्बिनी शान्ति बगैँचा’मा स्वयम्भुका दुई आँखा अंकित १५ मिटर अग्लो स्तुप बनाइएको छ। त्यसभित्र ११ फिट अग्लो बुद्धको मूर्ति पनि राखिएको छ। बुद्धको मूर्ति नेपालमा बनाएर चीनमा ल्याइएको हो।

नेपालको तर्फबाट इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले नेपालबाट प्राविधिकहरू ल्याई त्यसको ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरेको हो। इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका निर्देशक तथा एक्स्पोका नेपाल कन्ट्री निर्देशक विनायक शाहले सुरुमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको विरुवा ल्याएर राष्ट्रपति भण्डारीको हातबाट रोप्ने योजना रहे पनि त्यो सम्भव नभएको बताए। नेपालबाट वनस्पतिको विरुवा चीनमा ल्याउनका लागि क्वारेन्टाइनलगायत कानुनी जटिलता रहेको र त्यसका लागि निकै लामो समय लाग्ने भएकाले चीनबाट जुटाइएको लोठसल्लाको विरुवा राष्ट्रपतिको हातबाट रोपिएको बताए। राष्ट्रपति भण्डारीले सल्लाको विरुवा रोपेर उद्घाटन गरेपछि स्मृति पुस्तिकामा हस्ताक्षर गरिन्।

प्रकाशित: १७ वैशाख २०७६ ०२:५४ मंगलबार

विद्यादेवी_भण्डारी बेइजिङ_एक्स्पो लुम्बिनी_शान्ति_बगैँचा