कला

स्वास्थ्य केन्द्र बनाउँदै ‘मिस नेपाल’ श्रृङ्खला

मकवानपुरको विकट गाउँमा कैलाश गाउँपालिका ७, ताम्लाङमा निर्माणको अन्तिम चरणमा पुगेको स्वास्थ्य केन्द्र भवन अगाडि आमासँग ‘मिस नेपाल वल्र्ड २०१८’ श्रृङ्खला खतिवडा। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर– ‘मिस नेपाल वर्ल्ड २०१८’ श्रृङ्खला खतिवडाले गृह जिल्ला मकवानपुरको विकट गाउँमा निर्माणाधिन सामुदायिक स्वास्थ्य केन्द्र भवनको निरीक्षण गरेकी छिन्। कैलाश गाउँपालिका वडा नम्बर–७, ताम्लाङमा उनी अध्यक्ष रहेको वान होम फाउन्डेसनमार्फत निर्माणको अन्तिम चरणमा पुगेको स्वास्थ्य केन्द्र भवनको अवलोकन गर्दै कामदारलाई निर्देशनसमेत दिइन्।

पूर्व–पश्चिम राजमार्गको मनहरी बजारबाट खोला किनारैकिनार डेढ घण्टाको यात्रा पछि वैशाखको गर्मीको बेवास्ता गर्दै झण्डै आधा घण्टा उकालो हिँडेर उनी स्वास्थ्य केन्द्र स्थलमा पुगेकी थिइन्। साउन २६ गते सिलान्यास गरिएको स्वास्थ्य केन्द्र भवनको निर्माण सकिने तर्खरमा रहेको देखेपछि उनी खुशीले फुरुङ्ग भइन्। ‘भवनमा रंग लगाउन बाँकी छ। अनि मसिनो कामहरू मात्र बाँकी छ’, उनले भनिन्, ‘निर्माणको सबै काम लगभग सकियो। अब इक्युपमेन्ट(उपकरण) ल्याएर फिट गर्नुपर्छ।’

स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीयबासीले वर्षायाममा बिरामी भएमा उपचारका लागि झण्डै ५ घण्टा पैदल हिडेर मनहरी बजार आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ।


आफै आर्किटेक्ट इन्जिनियर भएकाले ‘मिस वल्र्ड २०१८’ को ‘ब्युटी विथ पर्पस’ अर्थात् ‘उद्देश्यसहितको सौन्दर्य’का लागि उनले स्वास्थ्य केन्द्र भवन निर्माण शुरु गरेकी थिइन्। खतिवडाले रचनात्मक कार्यअन्तर्गत विकट क्षेत्रका विपन्न जनतालाई सहज सेवा पु-याउने उद्देश्यले ६ कोठे स्वास्थ्य केन्द्र भवन निर्माण सकिन लागेकोमा हर्ष लागेको बताइन्।

‘आज म यत्ति धेरै खुशी छु। भनि साध्य छैन,’ आमा एवं प्रदेश सांसद मुनु सिग्देलसँग पुगेकी उनले खुशी साट्दै भनिन्, ‘काठमाडौंमा बसेर काम कति पुग्यो होला भनेर धेरै आत्तिएको थिए।’ करिब ६० लाख रुपैंया खर्च लाग्ने स्वास्थ्य केन्द्र भवन निर्माणमा भौगोलिक विकटताका कारण निर्माण सामग्री ढुवानी र जनशक्तिको अभावले धेरै समस्या भएको उनले बताईन्।

विद्युत नभएको र सडकसमेत नाममात्रको रहेको विकट गाउँमा एक वर्षभित्रै स्वास्थ्य केन्द्र भवन निर्माण गर्न सफल भएकोमा उनले सहयोगीहरूलाई धन्यवाद दिइन्। ‘अपांगमैत्री भवनका सबै कोठामा ह्वील चेयर आवतजावत गर्न मिल्छ’, उनले भनिन्। तीनवटा शौचालयसमेत रहेको भवनको एउटा कोठालाई बालबालिका खेल्न मिल्ने बनाइनेछ।

स्वास्थ्य केन्द्र भवन निर्माण हुनासाथ कैलाश गाउँपालिकालाई हस्तान्तरण गर्ने उनले बताइन्। ‘नर्स, अनमीलगायतको कर्मचारीको दरबन्दीका लागि स्वीकृति पनि पाइसक्यौं’, उनले भनिन्। भवन गाउँपालिकालाई हस्तान्तरण गरेपनि स्वास्थ्य शिविर आयोजना र डाक्टरहरू भ्रमणमा ल्याउने काम भने गरिरहने उनको भनाइ छ।

‘मिस वर्ल्ड' प्रतिस्पर्धामा ‘उत्कृष्ट १२’मा परेर बाहिरिएकी उनले आर्किटेक्ट, पढाई, समाजसेवासँगै भावी योजना बनाइरहेको बताईन्। ‘सोचेर, सम्झेर अगाडि बढ्नुपर्ने भएको छ। त्यसबारे सोच्दैछु,’ उनले भनिन्।

पुस्तक पढ्न, लेख्न, घुम्न, हाईकिङ, ट्रेकिङ गर्न, गाउँमा जान मन पराउने बताउँदै उनले नयाँ मिस नेपालबारे कौतुहल्ता रहेको खुलाइन्। ‘एक बर्ष सकिसक्यो। यो पाली ढिला शुरु भएकाले हामी १३ महिना रेनिङ क्वीन हुन पायौ,’ उनले भनिन्, ‘नयाँ मिस नेपाल को होला भनेर उत्सुक छु।’

त्यसक्षेत्रमा स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीयबासीले वर्षायाममा बिरामी भएमा उपचारका लागि झण्डै ५ घण्टा पैदल हिडेर मनहरी बजार आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ। ‘मिस नेपाल वल्र्ड २०१८’ खतिवडाले मकवानपुरको विकट गाउँमा कैलाश ७, ताम्लाङमै गत कात्तिक ९ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकी थिइन्।

प्रकाशित: १६ वैशाख २०७६ ०६:४० सोमबार

मिस_नेपाल श्रृङ्खला_खतिवडा सामुदायिक_स्वास्थ्य_केन्द्र मकवानपुर