कला

टुहुरे एकल साँझ : आमा दिदी बैनी हाे, कति बस्छाै दासी भै

आमा दिदी बहिनी हो कति बस्छौ दासी भै
सुखको सधैं प्यासी बनेर

काठमाडाैं - एकदेव ज्ञवालीको शब्द रहेको यो गीतको संगीत जनवादी गायक जेबी टुहुरेले भरेका हुन्। शुक्रबार टुहुरेको निरन्तरता २०७६ मा टुहुरेले यो गी गाइरहँदा कार्यक्रममा छुट्टै माहोल तात्यो। कार्यक्रम हेर्न आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि छमछमी नाचे।

जब दाहाल नाच्न थाले हलमा भरिभराउ दर्शकहरुले हुटिङले साथ दिएपछि ७५ बर्से टुहुरे झन् कस्सिएर गाउन थाले। ७५ बर्से टुहुरेको जोस देखेर हलमा उपस्थित दर्शक झनझन हुटिङले साथ दिन थाले। दाहालको व्यस्तताको कारण टुहुरेले अन्तिममा गाउन लागेका यो गीत बीचमै गाएका थिए। टुहुरेले गाएकामध्ये अहिलेसम्मको सबैभन्दा चर्चित गीत पनि यही हो। उक्त कार्यक्रममा टुहुरेले १४ वटा गीत गाएका थिए। कार्यक्रमको आयोजना जेबी टुहुरे फाउन्डेसनले गरेको थियो।

०२४ सालदेखि न्याय, स्वतन्त्रता, परिर्वतन र मुक्तिका लागि भन्दै टुहुरेले गीत गाउन थालेका थिए। नागरिक स्वतन्त्रता, जनअधिकार र महिला मुक्तिको पक्षमा टुहुरेले करिब डेढ सय गीत गाएको फाउण्डेसनले जनाएको छ। शुक्रबार टुहुरेले १४ वटा गीत गाएका छन्। टुहुरेको कुनै गीतहरुमा भने नृत्यसमेत गरिएको थियो।

‘आमा दिदी बहिनी हो कति बस्छौ दासी बनेर, सुखको सधैं प्यासी बनेर’, आमा तिम्रो माया कञ्चन पानी जस्तो, ‘आमा तिम्रो मुटु मायाको खानी जस्तो’, ‘छोराहरु हो छोरी हो, वीर छोराछोरी हो’, दुःखको बोझ बिसाउन, चौतारी बनाउन है एकले होइन हजारौं मिलेर लौन’, संक्रान्ति माने डाडाँ है पारी जून पनि लुकेछ, अँध्यारोबीच महादेवस्थानमा बन्दुक भुलेछ’, बसाइँ हिँड्नेको ताँतीले, देशभक्त छोरो मर्दा देशै रुँदो रैछलगायत गीत गाएका थिए। 

०२७ सालमा अनेरास्ववियुको आयोजनामा त्रिभुवन विश्वविद्यालयको अडिटररियम हलमा टुहुरेले ‘वान मेन शो’मा एकल प्रस्तुति दिएका थिए। ०६० सालमा प्रज्ञा प्रतिष्ठानको हलमा जु.बि टुहुरेको निरन्तरता २०६० भएको थियो। त्यसको १६ बर्षपछि शुक्रबार सोही नाम दिएर टुहुरेको एकल सांगीतिक कार्यक्रम गरिएको थियो।

कार्यक्रम हेर्न आएका अध्यक्ष दाहालले विगतलाई सम्झँदै आफूले पनि टुहुरेको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भै...’ नामको गीत गाउने गरेको बताए। ०३६ सालको आन्दोलनमा गीत गाएर जनतासामु जानुपर्ने पनि दाहालले बताएका थिए। विगतका कतिपय आन्दोलन गीत संगितबाटै परिचालित हुने दाहालले कार्यक्रममा बताएका थिए।

प्रकाशित: १३ वैशाख २०७६ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App