कला

पतिबाट अलग्गिइन् एडिली

लन्डन – बेलायती गायिका तथा गीतकार एडिली पति सिमोन कोनेकीबाट अलग्गिएकी छन्। गायिकाका प्रतिनिधि बेनी तारान्तिनी र कार्ल फिसले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुवैजना अलग्गिएको पुष्टि गरेका हुन्।

‘एडिली र उनका पति अलग्गिएका छन्। उनीहरूले आफ्नो एक्लो छोरालाई आपसी सहमतिमा माया दिने बताएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले बाँकी कुरा गोप्य राखेका छन्। यो बाहेक अन्य जानकारी दिन चाहेनन्।’

एडिलीले सन् २०१२ मा छोरा एन्गिलोलाई जन्मदिएकी थिइन्। आफ्नो दाम्पत्य सम्बन्धका बारेमा सधैं गोपनियता चाहने एडिलीले सन् २०१७ को ‘ग्रामी अवार्ड’मा ‘एलबम अफ दी इयर’को अवार्ड जितेपछि कोनेकीसँग विवाह गरेको सार्वजनिक भएको हो। ‘ग्रामी, म यसको सराहना गर्दछु। एकेडेमी म तिमीलाई माया गर्छु। मेरो व्यवस्थापक, मेरा पति र मेरो छोरा तिमीहरूकै कारण मैले यो उपलब्धि हात पारें’, अवार्ड उचालेर यो मन्तव्य दिएपछि उनीहरूको सम्बन्धका बारेमा खुलासा भएको हो। ३० वर्षीया एडिलीले पाँच वर्षको डेटिङपछि कोनेकीसँग विवाह गरेकी थिइन्।

लन्डनमा जन्मिएकी एडिलीले सन् २००८ मा ‘१९’ नामक पहिलो एलबम सार्वजनिक गरेकी थिइन्। यो एलबममा रहेको ‘चेजिङ पेभमेन्ट्स’ र ‘होमटाउन ग्लोरी’ गीत यूकेको नम्बर एकको चार्टमा परेको थियो। उनको ‘समवान लाइक यु’, ‘रोलिङ इन दी डिप’ र ‘रुमर ह्याज इट’ गीत पनि सर्वाधिक रुचाइएको गीतमा पर्दछ। यी गीतहरू अमेरिका र यूकेसहित विश्वका तीस मुलुकको चार्टमा पहिलो स्थानमा परेपछि उनले आफुलाई विश्वकै सफल गायिकाका रूपमा स्थापित गरेकी थिइन्। उनले सन् २०१५ मा ‘२५’ अर्को एलबम सार्वजनिक गरेकी थिइन्। एलबममा रहेको एउटा गीत ‘हेल्लो’ पनि समिक्षात्मक र व्यावसायिक दुबै रूपमा सफलता पाएको थियो।

एडिलीका पति कोनेकी यूकेमा रहेको पारिस्थितिक ब्रान्डको पानी ‘लाइफ वाटर’को सहसंस्थापक हुन्। यो कम्पनीबाट उठेको रकमले उनले ‘ड्रपफरड्रप’ नामक च्यारिटी संस्थाले चलाएका छन्। यो संस्थाले यूकेमा स्वच्छ पानी उपलब्ध गराउँदै आएको छ। कोनेकीका प्रतिनिधिले भने एडिली र कोनेकीको सम्बन्धविच्छेदको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित: ८ वैशाख २०७६ ०३:०३ आइतबार

गायिका गीतकार एडिली