कला

काङमाङको ‘एघार नोभेम्बर’

काठमाडौं – युद्ध साहित्यका प्रवर्तक काङमाङ नरेश राईले युद्धकथा संग्रह ‘एघार नोभेम्बर’ पाठकमाझ ल्याएका छन्। विश्वमा गोर्खाली गौरव र नेपाली समाजमा लाहुरेहरू सानका पात्रका रूपमा हेरिने वा देखिने गरेता पनि ब्रिटिस गोर्खा सेनाहरूको वास्तविकता चाहिँ कस्तो थियो र रहेको छ ? भन्ने विषयलाई राईले कृतिमा केन्द्रीत गरेका छन्।

ब्रिटिस गोर्खा सेनाबाट अवकाशप्राप्त कथाकार राईको कथासंग्रहभित्र ‘तक्मा’, ‘कान्ते अर्थात् क्रान्तिसिं’, ‘एक सेकेन्ड’, ‘ढङ्लङ बोजू’, ‘डिभोर्स’, ‘एघार नोभेम्बर’ र ‘लङ्टारिबुङ’ गरी सात कथा समावेश छन्।

उनको यसअघि ‘युद्ध बोकेको सिताङ’ उपन्यास र ‘खुकुरीको धारमा’ नामक लाहुरेका युद्ध–अनुभवकथा र ‘पप्पफूल’ कविता संग्रह प्रकाशित छन्। ‘खुकुरीको धारमा’ नामक पुस्तक ‘फियरलेस वारिअर’ नामबाट अनूदित भई बेलायतको ओलम्पिया प्रकाशन गृहबाट प्रकाशित भएको छ। युद्धलाई आफ्नो लेखनको विषय बनाउने राईको ‘एघार नोभेम्बर’ यथार्थको आख्यान मान्न सकिन्छ। युद्धसाहित्यको अध्ययन, लेखन र प्रर्वद्धनमा समेत लागेका राईको कथा संग्रह फिनिक्स बुक्सले छापेको हो।               
 

प्रकाशित: २ वैशाख २०७६ ०४:३० सोमबार

युद्ध साहित्य काङमाङ