कला

स्रष्टालाई कलम उपहार !


काठमाडौं – लोकतान्त्रिक गणतन्त्रको पक्षमा निरन्तर आवाज उठाउने स्रष्टाद्वय पुरुषोत्तम दाहाल र पुरुषोत्तम सुवेदी शनिबार सम्मानित भएका छन्। खुला समाज तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडकमा उत्रेर निषेधाज्ञा तोडेबापत स्रष्टाहरू पक्राउ परेको दिन २०६२ चैत ३० को सम्झना गर्दै शिल्पी थिएटर काठमाडौंमा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि कवि वैरागी काइँलाले आयोजक ‘स्रष्टा चैत ३०’ नामक संस्थाका तर्फबाट स्रष्टाद्वयलाई सम्मान–पत्र हस्तान्तरण गरेका थिए। सम्मानित स्रष्टालाई पुरस्कारस्वरूप एक–एकवटा कलम उपहार दिइएको थियो। मनोज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएका बेला साहित्यिक स्रष्टाले नै सडकमा आएर लोकतान्त्रिक गणतन्त्रको नारासहित अघि बढ्न राजनीतिक नेतृत्वलाई प्रेरित गरेको स्मरण गरिएको थियो।

संस्थाले लोकतान्त्रिक आन्दोलनमा योगदान दिने सिर्जनशील स्रष्टाहरूलाई हरेक वर्ष चैत ३० गते यसरी नै सम्मान गर्दै आएको छ। कार्यक्रममा कवि वैरागी काइँला, डा. कुमारप्रसाद कोइराला, विष्णुविभू घिमिरे, ठाकुर बेल्वासेलगायतले जुनसुकै विचारधाराबाट प्रभावित भए पनि सच्चा स्रष्टा आजीवन सत्ताको विपक्ष र परिवर्तनको पक्षमा हुने धारणा राखेका थिए।

प्रकाशित: १ वैशाख २०७६ ०३:४७ आइतबार

लोकतान्त्रिक_गणतन्त्र पुरुषोत्तम_दाहाल उपहार