कला

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

गणेश खनिया 
चालिसको प्रारम्भ। जनमत संग्रहपछि देशको राजनीति भुसको आगोझैं भित्रभित्रै सल्किंदै थियो। रामेश–मन्जुलका गीतसंगीतले पूर्वी पहाडका डाँडा कन्दरा तरंगित हुँदै थिए।

चितवनका गाउँघर पनि परिवर्तनका आकांक्षी बनिरहेथे। शब्दका गेडा केलाउने क्षमता त थिएन त्यतिखेर हाम्रो। तर तिनै जागरणका छिटा बाछिटा हाम्रा गाउँघरमा पनि तप्केका थिए सायद। बुद्घचोकमा एक साँझ सामना सांस्कृतिक समूहको प्रस्तुति हुने भयो, गायक खुशीराम पाख्रिनकोे अगुवाइमा। सम्साँझै भातभान्सा सकेर गाउँ डल्लै उर्लिगयो त्यहाँ।

हामी केटाकेटी पनि त्यतै धुइरियौं। गीतका बिचमा नाच र नाटिका चलिरहे। यसैबीच अतिथि कलाकार जेवी टुहुरे मन्चमा उक्लिए र मधुर गलाले गहकिलो गीत गाउन थाले। सबै ज¥याकजुरुक हुन थाले। थपडी मार्दै ओठ चलाउन शुरु गरे, चौरमा बसेका सयौं नरनारीहरू।  

‘आमा दिदी बहिनी हो 
कति बस्छौ दासी बनी 
सुखको सधैं प्यासी बनेर’ 

पञ्चायती व्यवस्थाविरुद्घ जनतालाई जागरुक बनाउने सांगितिक प्रयासले गति लिएको समय थियो त्यो। प्रतिरोधी नाटक हाम्रै घरआँगनमा मञ्चन गरिन्थे। तिनै कार्यक्रमबीच छमछम नाच्थे–दौरा सुरुवाल, इष्टकोट र ढाकाटोपीमा पुरुष तथा गुन्यू चोली र फरियामाथि पटुकी कस्दै महिला। तर बिडम्बना ! नारी पात्रको भूमिकामा पनि पुरुष नै देखिन्थे प्रायः। कुमार थापा मगर तिनैमध्येका कुशल कलाकार थिए। झ्याउरे भाकामा कम्मर मर्काई मर्काई नाच्थ्यो कुमारको समूह, टेप रेकर्डरमा घन्किरहेको गीतको तालमा। 

‘जाऊँ न नानी तराई फाँटैमा 
के पो छ र पहाडी डाँडैमा ?’

चितवन बसाइ आएका पहाडेहरूको लर्को लामै थियो। भर्खरै झरेका आमा–चेलीहरू एक अर्कालाई पुलुक्क हेर्दै लजाउँथे अनि पछ्यौराले मुख छोपेर मरीमरी हाँस्थे। अलि अधबैंसे तर रौसे खालका बुढाहरू भने मञ्चमै उक्लिन्थे र रक्सीको तालमा झुम्न थाल्थे नर्तक–नर्तकीसँगै।   

एकजना दाइ थिए हामीकहाँ काम सघाउने। माल्दाइ भनेर डाक्थ्यौं हामी। नाम बिगारेर ‘इरे माइला’ भन्थे मावली दाँवल। अलि सन्की खालका थिए, घरी फुरुक्क फुर्किने। खाना कम खान्थे, काम चाहिं धेरै गर्ने। धानका बिटा बोक्दा भारी पुगेन भनेर रिसाउँथे हामीसित। खाना थप्दिन खोज्दा ‘पर्दैन’ भनेर गर्जिन्थे। अनि हाँस्दै भन्थे– ‘धेरै खाए मल, थोरै खाए बल।’ 

गोरु नारेर खेतबारी जोत्न थाल्नुहुन्थ्यो बुबा। माल्दाई छेऊकुना मिलाउने, कान्ला ताछ्ने गर्थे। हजुरबा चाहिं ढ्यांग्रे रेडियोमा लोकगीत घन्काउँदै बारीको वल्लो छेउबाट पल्लो छेउ बिनासित्तै चाहारिरहने। रेडियोमा धेरै सुनिन्थे धर्मराज थापा। उनको स्वर खस्न नपाई माल्दाइ धोत्रो स्वरमा वेपर्वाह चिच्चाउँथे,

‘हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो 
हो हो तारे हो’  

हामीसँगै विज्ञान विषय लिएर पढ्ने केटीहरू थोरै थिए। कुर्कुरे बैंसले भर्खर छोएको समय। तिनैमध्ये एउटीसँग आँखा जुध्न थाल्यो मेरो, पत्तै नपाई एक अर्कालाई मन पराउन थालिएछ। अनि त कहिले दशैं आउला? अनि नयाँ वर्ष कहिले आउला?
 

मेरा तीन दिदी बहिनी। बर्षौटे जस्ता भएर होला, छिनछिनमा झगडा भइबस्थ्यो हामीबीच। आमा भन्नुहुन्थ्यो, ‘कस्ता कुकुर बिराला जस्ता हुन्। एकछिन मिलेर बस्न नसक्ने।’ 

बुबाको मुड बिग्र्या वेला पर्यो भने दह्रो चट्कन पथ्र्यो दिदी र मेरो गालामा। साना बैनीहरू सधैं दोषमुक्त। रोइरहेका दुई बैनीलाई काखमा दुईतिर राखेर हल्लाउँदै फकाउनु हुन्थ्यो बुबा। अनि घाँटी तान्दै चर्को स्वरमा गाउन थाल्नुहुन्थ्यो –  

‘आउ लेऊ झिक बाबु, किताब र कापी 
तिमी आउँदा बैनी ल्याऊ पढ्नलाई साथी 
तिमीजस्तै युवक र युवती मिलेर
चन्द्रलोक पुगिसके रकेट लिएर’

धेरैपछि थाहा भयो, यो त बुढाको आफ्नै सिर्जना रैछ। आधा दर्जन अरु गीतसँगै कापीका पहेंलिएका पानाहरूमा कैद भइबसेको छ यो गीत अझै।   

अर्को एउटा प्रसंग जोडौं सानै छँदाको। रक्सौल घर बताउने काठ मिस्त्री थिए रसुल चाचा। झुस्स फुलेका दाह्री पाल्थे। उनका दुई सहायक थिए, भर्खरै जुँघाको रेखी बसेका। एकजना उनकै छोरा परेछन्। लामो काठ खुर्कीखार्की सिनित्त पार्थे उनीहरू। केटाहरू रन्दा लगाउँथे अनि आरा चलाउँथे त्यही कालो धर्कोमाथि।

त्यसपछि तिनैजना खेलाउँथे बसिला, राँबो, र छिनो पालैपालो। रसुल चाचाका निपुण हातले ‘फिनिसिङ्ग टच’ दिएपछि काठे पल्ला तयार हुन्थ्यो। त्यही चिल्लो पल्ला हाम्रो गालामा छुवाउँथे उनी। हामी थोते दाँत देखाउँदै खितिती खितिती हाँस्थ्यौं। उनी भने मगन हुन्थे आफ्नै मनपसन्द लयमा।

‘ओ खैइके पान बनारसवाला
खुलिजाए बन्द अकलका ताला 
फिर तो ऐसा करे धमाल 
ओ छोरा गंगा किनारेवाला’

तर उनले ‘डन’को अभिताभले जस्तो पान चपाइरहेका हुन्थेनन्। बरु हातमा सूर्ती माडिरहेका हुन्थे। मडुवा सूर्ती ओठमा च्याप्थे अनि फूर्तीसाथ सुसेल्थे, उही ‘बनारसवाला’ भाका निकाल्दै। हामी भने उनले सुसेल्दा फुलेका घाँटीका नसाहरू तलमाथि गरेको देखेर एकटकले हेथ्र्यौं र उनको घाँटी मुसार्न खोज्थ्यौं।  

श्याम मामा, मेरा कान्छा मामा। उमेरमा केही वर्षले जेठा मभन्दा। मेरो छिमलका सबैले उनलाई पछ्याउँथे, स्कूल जाँदा आउँदा। मामाकै संगतले सिनेमाको तिलस्मी संसार चियाउन थालें मैले। श्याम मामालाई अधिकांश सिनेमा ‘फस्र्ट शो’ मा नै हेर्नुपर्ने। गीतसँगै सिनेमाको कहानी सुन्न पाइन्थ्यो निःशुल्क, कान्छा मामाको ननस्टप भर्सनमा।

पिच्च पिच्च थुक्न पथ्र्यो उनलाई बीचबीचमा। त्यतिखेर कहानीको लय बिग्रेकोमा कम्ता झोक चल्थ्यो हामीलाई ? तर गर्नु के र? उनी नै थिए हाम्रा लागि एक मात्र मनोरन्जन प्रदायक। यसैबीच मामाकै साथमा डेब्यु गरें मैले फिल्मी दुनियाँमा, ‘लैला मज्नू’ मार्फत्। नारायणगढको गणेश चलचित्र मन्दिरमा हेरेको ‘लैला मज्नु’को कहानी त केही थाहा छैन। घायल नायकलाई अँगाल्दै नायिकाले गाएको एउटा गीत भने धूमिल सम्झनामा बसेको छ अझै। 

‘हुस्न हाजिर है मोहब्बतकी सजा पाने को 
कोही पत्थर से ना मारे मेरे दिवानेको’

निम्न माध्यमिक तहको पढाइ सकेर माध्यमिक तहमा उक्लियौं हामी। नयाँ प्रअ राजकृष्ण कँडेलको आगमनले प्रेमवस्ती स्कूलको पढाइको स्तर उकासिँदै गयो, सुनाम चारदिशा फैलिन थाल्यो। वरपरका स्कुलबाट हाम्रोमा नयाँ विद्यार्थीहरू ओइरिन थाले। लंकूतिरबाट पनि एउटा हुल पस्यो हामीकहाँ। त्यही हुलमा मिसिएर आए कृष्णचन्द्र भट्टराई पनि, मेरा सहपाठी बनेर। उनको घरमा उबेलै टिभी थियो। दाजुभाइसँगै क्रिकेट हेर्थे दूरदर्शनमा। फिल्मीगीतको एउटा कार्यक्रम थियो, चित्रहार। त्यस कार्यक्रममा हेरेका गीतहरू गुन्गुनाउँथे उनी घरीघरी।

‘नैनोंमे सपना
सपनोंमे सजनी
सजनी पे दिल आ गया’ 

टिभी थिएन हामीकहाँ। स्वत दूरदर्शन पनि कल्पनाबाहिर भयो हाम्रो लागि। तर नेसनल पानासोनिक रेडियोचाहिँ थियो घरमा। एक साँझ बुबा घरमा नभएको मौका पारेर रेडियोको कान बटार्दै थिएँ म। एउटा स्टेसन टिप्यो। स्पष्ट र सुललित आवाज आयो– ‘भाइ और बहेनों, आप सुन रहे ह,ै बिनाका गीत माला।’

साथी कृष्ण र श्याम मामाले भन्ने गरेको एक मात्र नयाँ गीतको कार्यक्रम ‘बिनाका गीतमाला’ सुन्दै थिएँ म। लाग्यो, ठूलै सफलता हात प-यो। त्यसपछि? कहिले बुधबार आउला अनि साँझको ८ बज्ला? त्यही हुटहुटीमा हप्ता दिन बित्थ्यो। तर आमासँग ‘सेटिङ’ मिलाएर बुबाको रेडियो फुत्काउन सधैं कहाँ सक्नु र? तिनैताका हो, मैले सुनेको शब्बीर कुमार र बप्पी लहरीको संयुक्त आवाजको ‘गिरफ्तार’ फिल्मको यो गीत।    

‘आना जाना लगा रहेगा 
दुःख जाएगा सुख आएगा
करेगा जो भी भलाइके काम 
उसका ही नाम रहे जाएगा’  

हिन्दी गीतले कृष्ण र मेरो युगलबन्दी कसिलो बनाउँदै लग्यो। बलिउडका हप्ताभरिका नयाँ गीतहरूको उतारचढावको चर्चा गर्दै बित्थ्यो हाम्रो समय। पछि अर्का सहपाठी क्षेत्रविक्रम खाँड पनि जोडिए हाम्रो दलमा। कहिलेकाहीँ सँगै सिनेमा हेर्न जान्थ्यौ, जेठको मध्यधूपमा पनि साइकल पेलेर, असिनपसिन हुँदै। पढाइ नभएको बेला हामी टेबुल ठोक्दै टुटेफुटेको हिन्दीमा गीत गाइहाल्थ्यौं। अरू साथीहरू पनि झुरुप्प हुन्थे, हाम्रै वरपर। नेपाली सिनेमा खासै हेर्दैनथ्यौं, गीत पनि कमै याद गर्थ्यौं। तर बिस्तारै हिन्दी गीतका केस्रा केस्रा केलाउने भइसकेका थियौं।   

हामीसँगै विज्ञान विषय लिएर पढ्ने केटीहरू थोरै थिए। कुर्कुरे बैंसले भर्खर छोएको समय। तिनैमध्ये एउटीसँग आँखा जुध्न थाल्यो मेरो, पत्तै नपाई एक अर्कालाई मन पराउन थालिएछ। अनि त कहिले दशैं आउला ? अनि नयाँ वर्ष कहिले आउला ? पोस्टकार्ड सन्देश पठाउन पाइएला भन्ने मीठो छटपटीले सताउने गथ्र्यो, प्रतिपल। अब त ‘बिनाका गीतमाला’का हरेक हिट गीत उनैलाई लक्ष्य गरी गाउन मन लाग्ने। ‘बबी’ फिल्मको यो गीत बिछट्टै मन पथ्र्यो त्यसरी नै गुनगुनाउन। 

‘हम तुम एक कमरे मे बन्द हो 
और चावी खोजा 
सोचो कभी ऐसा हो तो क्या हो
सोचो कभी ऐसा हो तो क्या हो’

आइ.एस्सी. भरतपुरकै वीरेन्द्र वहुमुखी क्यापसबाट गरें मैले। किशोर गुरुङ्ग थिए रमाइलो एक मित्र कलेजमा। मीठो स्वर थियो। मुसुक्क हाँस्दै गाउँथे उनी नारायण गोपालका गीतहरू। केटाहरू तारिफको पाइन हाल्न सिपालु। किशोर लगातार पस्किन्थे नारायण गोपालका चलेका गीतहरू। दोहोराई तेहेराई किशोरको गलाबाट निस्किने गीत थियो –   

‘तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र 
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर’ 

विएस्साी इन्जिनियरिङ पढ्न बंगलादेश पुगें म। बंगलादेश भाषा आन्दोलनकै बलमा पाकिस्तानबाट स्वतन्त्र भएकाले होला, उच्चतहमा समेत मातृभाषामै पढाइ हुन्थ्यो। क्रमशः बंगाली सिक्दै गइयो। कुराकानी मात्र होइन, पढ्न लेख्न पनि बङ्गालीमा सक्ने भएँ कालान्तरमा। त्यसपछि त के र ? बंगाली गीतहरू सुन्न थालियो। बंगाली साथीहरूलाई दुई दशकअघि पाएको स्वतन्त्रताको धङधङीले छोडेको थिएन, त्यसैले त कलेजका हरेक कन्सर्टमा अनिवार्य हुन्थे मुक्तियोद्घा गायक आजम खान। बङ्गलादेशी साथीहरूसँगै हामी पनि मिसिन्थ्यौं कोरसका रुपमा, उनीहरूको स्वाधीनताको मर्म पर्गेल्दैः

‘रेल लाइनेर सेइ बस्तीते 
जन्म निएछे एकटी छेले 
माँ वाप काँदे 
छेलेटि मोरे गेछे 
आमार बाङ्गलादेश,
आमार बाङ्गालादेश’

मानिसहरू भन्छन् गीतहरू हुन्। मलाई लाग्छ याद झुन्ड्याउने काँटीहरू हुन्। अचेल रेडियो सुनिँदैन। सुने पनि रेडियो सेटमा होइन, मोबाइलमा हो। शहरमा टेलिभिजन नभएको घर कमै होला। तर अहिले पनि जबजब ती पुराना गीत बज्छन्, स्मृति अल्बम पल्टिन थाल्छ। एक–एक दृश्य सजिव भइदिन्छन्। त्यो विनाका गीत, त्यो पानासोनिक रेडियो, त्यो दूरदर्शन च्यानल, त्यो पहिलो प्रेम ! जिन्दगी सम्झनाहरूमा सजिव हुँदोरहेछ। गीत सम्झनाका छाल बोकेर आउँदारैछन्। 

 

प्रकाशित: ३० चैत्र २०७५ ०९:४३ शनिबार

गीति_याद गीत याद सम्झना