कला

मृगौला पीडितलाई ‘केःसाङला’को च्यारिटी

काठमाडौं– झापाको कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’को च्यारिटी शो हुने भएको छ। राजधानीको कमलपोखरीस्थित बीग मुभिजमा आगामी वैशाख २३ गते च्यारिटी शो गर्न लागिएको हो। फिल्मका निर्देशक लोकेन साँवा लिम्बूले च्यारिटी शोबाट उठेको रकममध्ये केही प्रतिशत निर्मललाई दिइने बताए। ‘मनोरञ्जनसँगै सामाजिक काममा पनि सक्रियता बढाउन हामीले च्यारिटी शो गर्न लागेका हौं’, निर्देशक लिम्बूले भने। फियाकको दुवै मृगौला अस्वस्थ छन्।

फिल्मको ट्रेलर र गीत सार्वजनिक गर्न राजधानीमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाले एउटा आदिवासी फिल्म बनाउन र प्रदर्शन गर्नु आफैमा गाह्राे काम भइरहँदा त्यस फिल्मबाट रकम उठाएर सामाजिक सेवा गर्नु अझ सराहनीय कार्य भएको बताए। 

नेपाल आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अहिले पनि आदिवासी फिल्म निर्माण गर्नु चुनौती रहेको बताए। फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ। फिल्ममा लिम्बू जातिको रहनसहन तथा विवाह संस्कृतिलाई पनि उजागर गरिएको छ। फिपरानी तुम्बाहाम्फे, विष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाम्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ।

प्रकाशित: २७ चैत्र २०७५ ०३:०८ बुधबार

कमल_गाउँपालिका ‘केःसाङ्ला च्यारिटी_शो