कला

‘सिस्टर्स फर सेल’ उत्कृष्ट

काठमाडौं– राजधानीमा आइतबार सम्पन्न सातौं संस्करणको ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९’ मा वेन रेन्डालले निर्देशन गरेको अस्ट्रेलियन फिल्म ‘सिस्टर्स फर सेल’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय नन–फिक्सन वृत्तचित्र’कोे अवार्ड जितेको छ।

चार दिनसम्म चलेको महोत्सवमा फ्रान्सका करिम रहबानीले निर्देशन गरको ‘कार्गाे’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिक्सन अवार्ड’ जित्यो। ‘नेपाल पानोरामा’ अन्तर्गत अविनाशविक्रम शाहको फिल्म ‘तटीनी’ले ‘उत्कृष्ट राष्ट्रिय फिक्सन फिल्म’अवार्ड’, दीपक तोलाङ्गेको फिल्म ‘टहरा’ले  ‘उत्कृष्ट राष्ट्रिय वृत्तचित्र’ जित्दा निर्देशक प्रसुना डंगोलले फिल्म ‘डोल्पा डायरी’का लागि ‘उत्कृष्ट नेपाली महिला निर्देशक’, जर्मनका मार्क मिकेललले ‘सेन्ड गर्ल’का लागि ‘जुरी स्पेसल मेन्सन’ र ‘थ्री स्टोलन क्यामेराज’ले ‘जुरी अवार्ड’ जित्यो। पुरस्कृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिक्सन र ननफिक्सन वृत्तचित्रले अवार्डसँगै जनही ५० हजार रुपैंयाँ पुरस्कार जिते।

मानवअधिकार चलचित्र केन्द्रले आयोजन गर्दै आएको महोत्सवमा मानवअधिकारका विषयमाथि बनेका ३३ देशका ८२ वटा सर्ट फिल्म, वृत्तचित्र, फिचर, एनिमेसनलगायतका फिल्म प्रदर्शन गरिएका थिए।

‘सुरक्षित, व्यवस्थित र आत्मसम्मानित आप्रवासन’ भन्ने नाराका साथ भएको महोत्सवमा नेपालका चलचित्र समिक्षक अनुप सुवेदी, कोरियाका फिल्म समिक्षक चाङ सेवक योङ, मलेसियाका महोत्सव निर्देशक आना हर मेइ योके र रसियाका फिल्म मेकर लिया गिल्मुट्डिनोभा निर्णायक थिए।

प्रकाशित: २६ चैत्र २०७५ ०५:२५ मंगलबार

चलचित्र_महोत्सव_२०१९ सिस्टर्स_फर_सेल