कला

सुपरहिरो फिल्ममा एन्जेलिना जोली

लसएन्जल्स– हलिउड अभिनेत्री एन्जेलिना जोलीले द मार्भल सिनेमाटिक युनिभर्सले निर्माण गर्न लागेको सुपरहिरो फिल्म ‘द इटर्नल्स’मा अभिनयको इच्छा व्यक्त गरेकी छन्। यदि जोलीको इच्छा पुरा भयो भने यो फिल्म जोलीले अभिनय गरेको पहिलो सुपरहिरो फिल्म हुनेछ।

फिल्मको विषय र जोलीको भुमिकाका बारे केही कुरा पनि सार्वजनिक गरिएको छैन। तर स्टुडियोका अध्यक्ष केभिन फेजले गत अप्रिलमा मार्भलको चौथो संस्करणको रूपमा फिल्म बन्ने जनाउ दिएका थिए।

फिल्ममा शीर्ष ‘सेर्सी’ भुमिकामा जोली रहनेछिन्। सेर्सी ऐलियनले दिएको सुपरपावरबाट बाँचेको अनौठो मानव समूहको सदस्य हुन्छ। फिल्मको कथा म्याथु र -यान फिर्पोले संयुक्त रूपमा लेख्नेछन् भने निर्देशनको जिम्मेवारी क्लोइ झाओले पाएका छन्। झाओले ‘द राइडर’बाट अवार्ड पनि जितेका छन्।

जोली हाल सन् २०१४ को सफल फिल्म ‘मेलफिसेन्ट’को सिक्वेल ‘मेलफिसेन्टः मिस्ट्रिस अफ इभिल’मा व्यस्त छिन्। फिल्म ‘मेलफिसेन्ट’ले विश्वव्यापी रूपमा ७ सय ५८ मिलियन डलरको आम्दानी गरेको थियो। फिल्मको सिक्वेलको काम आगामी अक्टोबर १८ बाट सुरु हुनेछ। 

योबाहेक जोलीको दुई नयाँ फिल्म ‘द वान एण्ड अन्ली इभान’ र ‘कम अवे’मा काम गर्ने तयारीमा छिन्। ‘द वान एण्ड अन्ली इभान’ एनिमेसन लाइभ एक्सन फिल्म हुनेछ भने ‘कम अवे’ फेन्टासी ड्रामा हुनेछ।

 

प्रकाशित: २० चैत्र २०७५ ०५:५३ बुधबार

एन्जेलिना_जोली हलिउड