कला

‘महँगीले करोडपति बनाइदियो’

काठमाडौं– हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ टेलिभिजनको अभिनयसँगै फिल्मी अभिनयमा पनि सक्रिय कलाकार हुन्। एक समय टेलिश्रृंखला ‘मेरी बास्सै’मा अभिनय गरेर चर्चामा आएका उनी अहिले फिल्मी अभिनयमा सक्रिय छन्।

उनी हालै मात्र नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही पनि हुन्न’मा उपस्थित भई आफ्नो नामको पछाडि जोडिएको ‘माग्ने बुढा’सँग जोडिएको किस्सा सुनाए। नेपाल कन्फ्युज पार्टीका पुष्पकमल गजेरेलका रूपमा कार्यक्रम सञ्चालक बनेका मनोज गजुरेलसँगको अन्तरसंवादमा गजुरेलले केदारलाई ‘राष्ट्रिय माग्ने बुढा’ भनेर सम्बोधन गरेका थिए। ‘माग्नेकै परिचय भएकाले सबैले ‘माग्ने बुढा’ भन्छन्। तर मलाई ‘माग्ने सर’, ‘माग्ने दाई’ र ‘माग्ने काका’ भन्दा चाहिँ अचम्म लाग्दो रहेछ।’

नामले आफु माग्ने बुढा भए पनि महँगीले करोडपति बनेको बताए। ‘मलाई महँगीले करोडपति बनाइदियो। काठमाडौंमा चार आना जग्गा लिएको थिएँ। त्यो जग्गाको भाउ बढ्दा बढ्दा महंगीले आफै करोडपति भइयो’, केदारले हाँस्दै भने।

उनले आफु सुरुदेखि नै कलाकारितामा लागेकाले कलाकारितालाई नछोड्ने बताए। ‘म सुरु देखिनै कलाकारितामा छु। एक प्रकारले कलाकारिताको अध्ययन नै पुरा भएको छैन। यो सिक्दै, काम गर्दै जाने क्षेत्र रहेछ’, उनले भने, ‘ कलाकारिताको अध्ययनमा व्यस्त छु। केही कुरा सिक्दैछु। एउटा चिज बनाएपछि त्यसमा भएको कमजोरीलाई कसरी सुधार्ने भनेर अर्को काम तिर लागेको छु।’

उनले आफु काल्पनिक प्रधानमन्त्री भए काल्पनिक खालकै नेपाल बनाउने बताए। ‘देश सुन्दर होस्। शान्त होस्। बिग्रहका कुरा नआउन् भन्ने नै सोच्छु’, केदारले भने।

‘ढुक्क हुनुस्’ मा मनोजले मन्त्री लालबाबु पण्डित प्रति पनि व्यंग्य कसेका छन्। मन्त्री पण्डित निधन भएका एक व्यक्तिको आफन्तलाई भेट्न माला लगाएर गएपछि उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। यही कुरालाई उनले ‘ढुक्क हुनुस्’मा व्यंग्यसमेत गरेका छन्।

 

प्रकाशित: १९ चैत्र २०७५ ०६:५२ मंगलबार

केदार_घिमिरे ढुक्क_हुनुहोस्ः मनोज_गजुरेल माग्ने_बुढा