कला

युट्युबमा मेलवादेवीको गीत

काठमाडौं– शहीद शुक्रराज शास्त्रीको शब्द र पहिलो नेपाली गायिका मेलवादेवीको स्वर रहेको ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ। नेपालयले मासिक रूपमा सञ्चालन गर्दै आएको ‘पलेँटी श्रृंखला’को युट्युब च्यानलमा यो गीत राखिएको हो।

यो गीतलाई गत महिनाको ‘पलेँटी श्रृंखला’मा गायिका मिना निरौलाले गाएकी थिइन्। श्रोताहरूले मिनाको स्वर भए पनि उनको स्वरमा मेलवादेवीकै सम्झना आएको प्रतिक्रिया दिएका थिए। ‘त्यसैलाई मनन गर्दै पलेँटी श्रृंखलाले यो गीत युट्युबमा सार्वजनिक गर्ने निधो गरेको हो’, पलेँटीका संयोजक आभासले भने, ‘गीत मेलवादेवीप्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ।’ आभासका अनुसार मिनाले गाएका सबैजसो वरिष्ठ गायिकाहरूका गीतलाई क्रमशः युट्युबमा सार्वजनिक गर्ने योजना पलेँटीले बनाएको छ।

चन्द्रशम्शेरको दरबारमा गायिकाको रूपमा सेवारत मेलवादेवीले चन्द्रशम्शेरको प्रिय हुँदाहुँदै पनि एक संगीतकर्मीकै प्रेममा दरबार छाडेकी थिइन्। कालान्तरमा उनले नेपाल छाडेर प्रवासमै जीवन बिताइन्। ओखलढुंगाको रुम्जाटारबाट आएकी यी गुरुङ चेलीले संगीतको साधना गर्दागर्दै शास्त्रीय स्वरलाई मिलाएर गाउने कलाको विकास गरेकी थिइन्। उनको रेकर्ड भएका गीतहरूमध्येमा ‘सवारी मेरो रेलैमा’ बढी चलेको गीत हो। 

 

प्रकाशित: १४ चैत्र २०७५ ०४:४५ बिहीबार

मेलवादेवी भिडियो युट्युब