कला

चिनियाँले गाए ‘घामको सानो टुक्रा’

बेइजिङ – बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले गायिका आस्था तामाङ मास्केको गीत ‘घामको सानो टुक्रा ओडेको छु सारा पीडालाई कतै भुलेको छु’ गीत गाएका छन्।

यहाँ आयोजित एक कार्यक्रममा सकारात्मक सोच र उज्जवल भविष्यको कामना गर्दै चिनियाँले यो गीत गाउँदा सहभागीले गड्गडाहट ताली बजाएका थिए। विद्यार्थीहरूले ‘किन लाग्छ मेरो आँसु भोलि मोती बन्छ, किन लाग्छ मेरो दुःख भोलि खुशी बन्छ’ भन्दै वर्तमान जस्तोसुकै भए पनि भविष्य राम्रो हुने सन्देश दिँदै गीत गाएका थिए।

बेइजिङका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने कुमारी,मारुनी र तामाङ सेलो नृत्यसमेत प्रस्तुत गरेका थिए। गत वर्षदेखि नेपाली भाषा अध्ययन सुरु गरेको बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयसँग नेपाली दूताबासले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल चीन सांस्कृतिक आदानप्रदान’ कार्यक्रमको शुभारम्भ गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले आगामी वर्ष मनाइँदै गरेको ‘नेपाल भ्रमण वर्ष’ चिनियाँ पर्यटक आधार स्तम्भ हुने बताए। 

विद्यार्थीहरूले ‘किन लाग्छ मेरो आँसु भोलि मोती बन्छ, किन लाग्छ मेरो दुःख भोलि खुशी बन्छ’ भन्दै वर्तमान जस्तोसुकै भए पनि भविष्य राम्रो हुने सन्देश दिँदै गीत गाएका थिए।

गत सोमबारबाट बेइजिङमा आयोजित कार्यक्रममा मा राजदूत पौड्यालले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकले मेरुदण्डको काम गरिरहेको भन्दै ‘नेपाल भ्रमण वर्ष’ सफल बनाउनमा पनि चिनियाँ पर्यटकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे। ‘अहिले पनि नेपाल भित्रिने विदेशी पर्यटकमा चिनियाँ पर्यटक सबैभन्दा धेरै छन्’, उनले भने, ‘त्यहीकारण पनि चिनियाँ पर्यटकका लागि आवश्यक पूर्वाधार नेपालले तयार पारिरहेको छ।’

राजदूत पौडेलले नेपाल भ्रमण गर्न चाहने चिनियाँका लागि काठमाडौं उपत्यकाको सांस्कृतिक महत्व, पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण पदमार्गलगायतका ठाउँको परिचय झल्किने तस्बिरसहितको प्रस्तुतिकरण दिएका थिए। राजदूत पौड्यालको प्रस्तुतिपछि चिनियाँ विद्यार्थीहरूले चीनले अगाडि सारेको वृहत परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’मा नेपाल प्रवेश गरिसकेको अवस्थामा नेपालले के कस्तो लाभ लिन सक्छ भन्नेलगायतका प्रश्न सोधेका थिए। उनीहरूले आफूहरू नेपाली भाषा सिकिरहेकाले भविष्यमा के कस्ता अवसर प्राप्त हुनसक्छन् भन्ने प्रश्न पनि गरेका थिए।

विश्वविद्यालयका उप–डिन मा चोङऊले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको जनाउँदै नेपाली भाषा अध्यापन सुरु गर्दा खुशी लागेको बताए। उनले आफूले एसिया तथा अफ्रिका क्षेत्र हेर्ने गरेको खुलाउँदै नेपाली भाषा सुरु गरेको छोटो समयमै राम्रो प्रभाव देखिएको र नेपाली सिक्न चाहने चिनियाँ विद्यार्थीको संख्या बढेको जनाए। कार्यक्रमको संयोजन पनि उप–डिन चोङऊले नै गरेका थिए। कार्यक्रमको समापन पछि दूताबासमा तयार गरेर लगिएको मःम र चुकाउनीको खाजा वितरण गरिएको थियो। कार्यक्रममा ८० जना सहभागी थिए।

प्रकाशित: १३ चैत्र २०७५ ०२:५० बुधबार

बेइजिङ परराष्ट्र_अध्ययन_विश्वविद्यालय नेपाली_भाषा चिनियाँ_विद्यार्थी