कला

स्रष्टालाई कार्टुनिस्टको सम्मान

काठमाडौं – नेपाली कार्टुन क्षेत्रमा योगदान दिने स्रष्टा र संस्थालाई नेपाल कार्टुनिस्ट क्लबले ‘बराथा स्मृति सम्मान’ र ‘स्वर्ण कुचीकलम’बाट सम्मान गरेको छ।

संस्थाले कलाकार तथा कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’, मोहनश्याम महर्जन ‘खोकना’ र धीरेशकुमार दाहाल ‘डिकेड’ लाई ‘बराथा स्मृति सम्मान’ बाट सम्मान गरेको हो। त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)का प्राध्यापक रामकुमार पाँडे, कलाकार तथा कार्टुनिस्ट अशोकमान सिं, पत्रकार डा. कुन्दन अर्याल, कलाकार तथा प्राज्ञ नारदमणि हार्तम्छाली, कामना मासिक पत्रिका र वासुदेव विद्यादेव लुइँटेल गुठीलाई ‘स्वर्ण कुचीकलम’बाट सम्मान गरेको थियो। दुवै विधाका सम्मानित व्यक्तित्वलाई वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले सम्मान गरेका थिए।

संस्कृतिविद् जोशीले कार्टुनले राजनीति, समाज, संस्कृति लगायतका विधामा प्रभावकारी रूपमा सचेत बनाउन झकझकाउन मद्दत गर्ने बताए। उनले राणाकालमा पनि गाईजात्राका बेलामा कार्टुन बनाउन छुट भएको स्मरण गर्दै मुलुक आर्थिक समृद्धिको नारासहित अगाडि बढिरहेका समयमा कला र संस्कृतिका माध्यमबाट पनि देश समृद्ध पार्न सकिने बताए। नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष तथा कार्टुनिस्ट केशवराज खनालले कार्टुनको विकासमा लाग्ने स्रष्टालाई प्रोत्साहन प्रदान गर्ने संस्कारको विकास गर्न सम्मान गरिएको जनाए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कार्टुन कला क्षेत्रको एक प्रभावकारी र सशक्त माध्यम भएकाले यसको विकासका लागि प्रतिष्ठानले सक्दो सहयोग गर्ने बताए।

‘स्वर्ण कुचीकलम’बाट सम्मानित डा. अर्यालले कार्टुनलाई अर्काइभमा संरक्षण गर्न ढिला गर्न नहुने बताए। सम्मानित वात्सायनले कार्टुनमा कला र विचार पक्ष हुनुपर्ने बताउँदै राम्रो कार्टुनले पाठकलाई सचेत बन्न अभिप्रेरित गर्ने जनाए।
क्लबका अध्यक्ष अविन श्रेष्ठले विगतमा अग्रजले दिएको योगदानलाई सम्झनका लागि बलराम थापा (बराथा) को स्मृतिमा सम्मान गर्ने परम्परा सुरु गरेको बताए। क्लबका अनुसार बलराम थापा ‘बराथा’ गोरखापत्रका पुराना कार्टुनिस्ट थिए। उनकै सम्झनामा क्लबले ०७० सालदेखि ‘बराथा स्मृति सम्मान’ प्रदान गर्न सुरु गरेको हो। यस सम्मानबाट यसअघि गोवद्र्धनविक्रम शाह र शशीविक्रम शाह सम्मानित भइसकेका छन्।
 

प्रकाशित: १२ चैत्र २०७५ ०६:३९ मंगलबार

स्रष्टा कार्टुनिस्ट सम्मान