कला

बालबालिकालाई ‘लभ स्टेसन’को सहयोग

काठमाडौं – आगामी चैत २२ गतेबाट रिलिज हुने फिल्म ‘लभ स्टेशन’ युनिटले ४५ अनाथ बालबालिकालाई निजी विद्यालय पढाउँदा लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेको छ। फिल्मका तर्फबाट नायक प्रदीप खड्का र प्रस्तुतकर्ता गोविन्द शाहीले राजधानीको गोकर्णस्थित संयुक्त एकता अपाङ्ग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई आगामी वैशाखबाट विद्यालय भर्नासहित तीन महिनाको लागि शुल्कबापतको एकमुष्ट रकम शनिबार प्रदान गरेका हुन्।

नायक प्रदीपले कलाकारको दायित्व भनेको अभिनयमात्र नभएर समाजसेवा पनि रहेकाले आफुहरूले बालबालिकालाई सहयोग गरेको बताए। ‘अहिले फिल्म लभ स्टेशनका तर्फबाट हामीले यो सहयोग गरेको हौं। यसपछिको लागि अन्य प्रोजेक्टबाट फेरी सहयोग गर्नेछौं’, उनले भने।

फिल्मका प्रस्तुतकर्ता शाहीले विगतमा पनि केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरेको बताउँदै फिल्मका तर्फबाट सामाजिक उत्तरदायित्व स्वरूप ४५ जना विद्यार्थीको तीन महिनाको पढाई खर्च ब्यहोरेको खुलाए। करेन्टबाट दुबै हात गुमाएकी मेघा घिमिरेलाई यसअघि पनि आफुहरूले एक लाख रुपैयाँ सहयोग गरेको शाहीले बताए।

गत हप्ता नायक प्रदीपको जन्मदिन मनाइएपनि उनका प्रशंसक ‘प्रदीप खड्का फ्यान परिवार’ले शनिबारै केक काटेर केन्द्रमा जन्मदिन मनाएको थियो। उज्ज्वल घिमिरे निर्देशित फिल्ममा नायक प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ।
 

प्रकाशित: १० चैत्र २०७५ ०६:१२ आइतबार

अनाथ_बालबालिका लभ_स्टेसन