कला

जयललिता कंगना

मुम्बई – बलिउडकी ‘क्वीन’ अर्थात अभिनेत्री कंगना रनावतले पछिल्लो दशकमा आफुलाई एउटा राम्रो कलाकारका रूपमा स्थापित गरिसकेकी छन्। उनले अभिनय गरेका हरेक फिल्मबाट उस्तै राम्रो पं्रशसा पनि पाइरहेकी छन्। यिनै कंगना अब प्रख्यात नेता तथा तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको बायोपिकमा प्रमुख भूमिका निभाउँदैछिन्।

आफ्नो जन्मदिनको दिन पारेर कंगनाले नायिकाबाट राजनीतिज्ञ बनेकी जयललिताको बायोपिकमा आफुले अभिनय गर्ने खुलासा गरेकी हुन्। यो फिल्मको नाम तमिलमा ‘थलाइवी’ र हिन्दीमा ‘जया’ हुनेछ। दुवै भाषामा बन्ने फिल्मको निर्देशन विजयले गर्नेछन्। विजयले यसअघि ‘मद्रासपट्टिनम’ र ’देइवा थिरुमगाल’जस्ता चर्चित फिल्मको निर्देशन गरेका थिए।

फिल्मका निर्देशक विजयले पनि कंगनाको कुराको पुष्टी गरे। ‘जयललिता म्याडम हाम्रो देशको एक ठूलो नेता थिइन्। उनको जिन्दगीमा फिल्म बनाउनु एउटा ठूलो जिम्मेवारी हो। म यो कामलाई इमान्दारिताका साथ पुरा गर्नेछु। भारतकै प्रतिभाशाली नायिका कंगना रनावतसँग जोडिन पाउनु मेरा लागि पनि खुशीको कुरा हो’, उनले भनेका छन्।

यो फिल्मलाई केवी विजयेन्द्र प्रसादले लेख्नेछन्। विजयेन्द्रले यसअघि सुपरहिट फिल्म ‘बाहुबली’ लेखेका थिए। ‘जयललिता हाम्रो देशको एक सफल महिला हुन्। उनी आफ्नो समयको सुपरस्टार थिइन्। योसँगै उनी राजनीतिमा पनि सफल भइन्। उनीमाथि बनिरहेको फिल्ममा जोडिन पाउनु मेरा लागि सम्मानको कुरा हो’, कंगनाले भनेकी छन्।

प्रकाशित: १० चैत्र २०७५ ०६:०७ आइतबार

क्वीन अभिनेत्री कंगना_रनावत