कला

साकेला सिली प्रतियोगिता

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा आगामी वर्षको जेठ दोस्रो साता ‘साकेला सिली प्रतियोगिता’ हुने भएको छ। किराँत राई यायोक्खा प्रारम्भिक समिति दोर्पाचिउरीडाँडाले आगामी जेठ १३ र १४ गते प्रतियोगिता गर्न लागेको हो।

किराँत राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिता गर्न लागिएको समितिका अध्यक्ष सिताराम राईले बताए। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः नगद १ लाख, ७५ हजार र ५० हजार रुपैंयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

युवापुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउन हुन लागेको प्रतियोगितामा जिल्ला तथा छिमेकी जिल्लाका करिब ५० समूहको सहभागिता रहने आयोजकको दाबी छ। ‘बाबुबाजेको अन्त्यसँगै साकेला सिलीको मौलिकता लोपोन्मुख अवस्थामा पुगेको छ। यसको पुस्तान्तरण हुन जरुरी छ’, अध्यक्ष राईले भने, ‘युवालाई संस्कार संस्कृतिको बारेमा जानकारी गराउने र संरक्षणका लागि सचेत बनाउने हाम्रो उद्देश्य हो।’ सहभागी समूहलाई प्रति समूह १० हजारका दरले यातायात खर्चसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा मुन्धुमज्ञातामार्फत साकेला सिलीको विषयमा जानकारी गराउने, साकेला सिलीका विषयमा विचार विमर्श गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैरराईबीचमा सद्भाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको विषयमा समान बुझाईको विकास गर्ने लगायतका लक्ष्य राखिएको आयोजकले जनाएको छ।
 

प्रकाशित: ७ चैत्र २०७५ ०६:५३ बिहीबार

साकेला_सिली_प्रतियोगिता किराँत_राई