काठमाडौं – थकाली समुदायको ऐतिहासिक पर्व तोरन्ल सोमबारबाट सुरु भएको छ। राजधानीमा बस्दै आएका थकाली समुदायका मानिसहरूले राजधानीको बालाजुस्थित थकाली सेवा समिति नेपालको कार्यालयमा भेला भई पाँच दिने पर्व मनाउन सुरु गरेका हुन्।
राजधानीमा सोमबार बिहान एक कार्यक्रमबीच पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले तारा खेल र थकाली संघ समितिकी पूर्व केन्द्रीय अध्यक्ष कृष्णकुमारी शेरचनले नाका भोटे खेलेर पर्वको शुभारम्भ गरे। उनीहरूले वर्षमा एकपटक मनाइने पर्वलाई उल्लास र शान्तिपूर्वक मनाउन आग्रह गरे।
समितिका अध्यक्ष खगेन्द्र भट्टचनले थकाली समुदायमा तोरन्लको ठुलो महत्व रहेको बताए। ‘हामी नेपालीहरू दशैंलाई ठुलो उत्सवका रूपमा जसरी मनाउँछौं। त्यो भन्दा ठुलो उत्सव हाम्रा लागि तोरन्ल हो’, भट्टचनले भने, ‘पितृहरूको सम्झना गर्दै र घरबाट विवाह भई बाहिर गएका चेलीबेटी तथा त्यसबाट जोडिन आउने नाताहरूको सम्मान र सत्कार गर्नकै लागि यो पर्व मनाइएको हो। यो पर्व एक हिसाबले थकाली समुदायको पुनःर्मिलन पनि हो।’
भट्टचनका अनुसार सोमबारबाट पर्व सुरु भए पनि यो चाड पहाडी पूर्णिमालाई बिचमा पारेर मंगलबारबाट तीन दिनसम्म विशेष पुजा गरी मनाइन्छ। ‘यस पर्वमा थकाली समुदायका मानिसले भोकै निराहार बसेर पूर्णिमाको अघिल्लोदिन देखि पूर्णिमाको भोलीपल्टसम्म प्रत्येक मध्यरातमा आफ्ना दिवंगत पितृको सम्झना गर्दै फलफूल र खानेकुराका परिकार चढाउने चलन छ’, भट्टचनले सम्झिए, ‘यसरी पितृको नाममा पुजा गर्ने र खानेकुराका परिकार चढाउनाले दिवंगत पितृको आत्माले मुक्ति पाउने र चढाइएका खानेकुरा उनीहरूले पाउने जनविश्वास छ।’
थकाली समूदायका मानिसले तोरन्ल पर्वअघि प्रत्येकले आफ्ना घरआगन चिटिक्क पारेर सिगार्ने चलन छ।घरलाई रङ्गरोगन र लिपपोतगरि चिटिक्क पारिएपछि घर भित्र सजाईएका थकाली भाडावर्तनलाई सफा र चम्किलो शुद्ध पारिन्छ।जसकारण थकाली तोरन्ल पर्वको सुरुआति अनुभुति दिलाउने गर्छ।तोरन्लको मुख्य बिशेषता परम्परागत तारा खेल मानिएको छ।
यसपर्व अवधिभर थकाली समूदायका मानिस एकआपसमा एकत्रितभई परम्परागत तारा र कोडा खेल्ने प्रचलन रहिआएको छ।यसपर्वमा थकाली समूदायका मानिसले भोकै निराहार बसेर पूर्णिमाको अघिल्लो दिन देखि पूर्णिमाको भोलीपल्ट सम्म प्रत्येक मध्यरातमा आफ्ना दिवंगत पितृको सम्झना गर्दे फलफुल तथा खानेकुराका परिकार चढाउने चलन छ।
प्रकाशित: ५ चैत्र २०७५ ०५:०९ मंगलबार