कला

पराजुलीको कविता कन्सर्टमा आँसुसँगै ताली

लण्डन- छोरा !

सिमेन्टको सेतो खाली बोरा बोकेर

धानको सिला खोज्न जाँदा 

तिमी पाइलैपिच्छे भेट्थ्यौ 

नरुवाको घाँटीमा सुनको सिक्री बनेर निदाइरहेका

धानका पहेँला बालाहरू

त्यसरी नै पाइलैपिच्छे भेटिरहनु

तिमीले जिन्दगीको खेतमा खोजेका 

सपनाका सिलाहरू 

हेब्बी बड्डे मेरो छोरा !

आफ्नै शैलीको मधुर आवाजमा जब कवि नवराज पराजुलीले कविता बाचन गर्न थाले एकाएक माहोल भावुक बन्न पुग्यो। कविता प्रेमीहरूले खचाखच भरिएको लण्डनस्थित ह्यारो फुटवल कल्वमा पराजुलीले ‘हेब्बी बड्डे’ छोरा शीर्षकको कवितामार्फत आफ्नो आमालाई सम्झाइरहेका थिए। उनले कविता बाचन गरिरहँदा कतिपय दर्शकको आँखाबाट आँसु नै रसाउन पुगेको थियो। 

क्षेत्री समाज युकेको आयोजना तथा गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिंमखडाको संयोजकत्वमा आइतबार आयोजित लण्डन कविता कन्सर्ट २ मा प्रमुख आकर्षण रहेका युवा पुस्ताका चर्चित कवि पराजुलीले यस्तै मनछुने कविता बाचन गरेर कहिले दर्शकलाई रुवाए भने कहिले तालीको पर्रा बटुले। 

कन्सर्टमा कवि पराजुलीले हेब्बी बड्डेसहित प्रहरी, बुवा, बापन्थिलाल, रुख, र शीर्षकका कविता सुनाएका थिए। 

वेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्थानिय स्रष्टा निर्पेश उप्रेती, फडिन्द्र भट्टराई, रेखा खरेल, रमेश कायस्त, प्रतिमा केसीले समेत आफ्ना सृजनाहरू वाचान गरेका थिए। 

पराजुलीले कविता वाचन गर्दै गर्दा पृष्ठभूमिको संगितले कविताको भावअनुसारको धुन प्रस्तुत गर्दा कविताहरूमा थप रनौक थपेको थियो। कार्यक्रममा सहभागी गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले कार्यक्रम पृथक शैलीको भएको भन्दै कन्सर्टबाट पूर्णरुममा मनोरन्जन लिएको प्रतिक्रिया दिए। 

उनले नवराज पराजुलीको नाम सुनेको भए पनि पहिलो पटक कन्सर्टमा कविता सुन्न आएको वताउँदै कविताहरू मेडिटेनमा आधारित रहेको बताए। उनले पराजुलीको यर्थाथपरक कविताले निकै मन छोएको बताए।

कन्सर्टबाट १५ लाख रुपैयाँ संकलन भएको क्षेत्री समाज युकेका अध्यक्ष राजन क्षेत्रीले जानकारी दिए। संकलित रकमबाट भूकम्प अतिप्रभावित सिन्धुपाल्चोकको टेकानपुरस्थित कालिका माविमा ई– पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।  

१६ लाख रुपियाँको लगानी लाग्ने उक्त ई–पुस्तकालयका लागि यो च्यारिटी कन्सर्टबाट आवश्यक कोष जम्मा गरिएको  कार्यक्रम संयोजक सिम्खडाले जानकारी दिए।

 

प्रकाशित: ४ चैत्र २०७५ ११:१९ सोमबार

कविता कन्सर्ट नवराज_पराजुली