कला

द्वन्द्वकाल सम्झाउने नाटक ‘द लिटिल स्कुल’

काठमाडौं - लेखक अलिसिया पार्टनोय सेनाबाट बेपत्ता हुनुपर्दाको घटनाक्रम सुनाउँदै छिन्। उनले घटनाको बयान गरिरहँदा छेउमै सेनाजस्ता देखिने केही मानिस एक युवतीलाई जबर्जस्ती समातेर लैजान्छ । यो दृश्य शनिबारदेखि कौसी थिएटरमा मञ्चन भइरहेको ‘द लिटिल स्कुल : बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटकको हो।

१० वर्षे जनयुद्धको दौरान नेपालमा बेपत्ता पारिएका व्यक्तिहरूको संक्रमणकालीन न्यायका लागि भइरहेका प्रयत्नसँग तुलना गरेर नाटक तयार गरिएको थियो ।

सन् १९७० को दशकमा अर्जेन्टिनामा भएको राजनीतिक उथलपुथलका क्रममा राजनीतिक बन्दी भएर बेपत्ता पारिएका लेखक अलिसिया पार्टनोयको पुस्तकमा आधारित नाटकलाई निर्देशक डेब्रा मेरोलाले निर्देशन गरेकी हुन् । १० वर्षे जनयुद्धको दौरान नेपालमा बेपत्ता पारिएका व्यक्तिहरूको संक्रमणकालीन न्यायका लागि भइरहेका प्रयत्नसँग तुलना गरेर नाटक तयार गरिएको थियो । सन् १९७६ मा सुरु भएको अर्जेन्टिनाको भ्रामक युद्धका बेला २० वर्ष पुगेकी लेखक पार्टनोयले तीन वर्ष बन्दी जीवन बिताएकी थिइन् । उनले करिब एक सय दिनभन्दा बढी द लिटिल स्कुल’ नामक कन्सनट्रेसन क्याम्प (थुनुवा शिविर) मा बिताएकी थिइन् ।

सन् १९७० देखि १९८३ चलेको युद्धको दौरानमा अर्जेन्टिनाबाट ३० हजार मानिस बेपत्ता भएका थिए । भ्रामक युद्ध सकिएलगत्तै उनले सनट्रेसन क्याम्प (थुनुवा शिविर) मा भोगेका पीडाको अनुभवहरू समेटिएर ‘द लिटिल स्कुल’ नामक पुस्तक सार्वजनिक गरेकी थिइन् । उनले शिविरमा भोगेका अनुभवहरूलाई स्मरण गर्दै नाटकमा देखिएकी उनी कथा सुनाउँदै छिन् । नाटकमा जिना लिनले उनको युवा अवस्थाको भूमिका निर्वाह गरेकी छन् भने उनकी छोरी इभा लेइभा पार्टनोय उनको युवा अवस्थाको आत्माको भूमिकामा देखिएकी छन् । 

थुनुवा शिविरको सेटमा मञ्चन भइरहेको नाटकमा देखिएका अधिकांश पात्रहरूको आँखामा सेतो पट्टी लगाइएको मात्र छैन, दुवै हात बाँधिएका उनीहरूलाई एकअर्कासँग कुराकानी गर्नसमेत मनाही गरिएको छ । सेनाको भूमिकामा देखिएका पात्रहरू सकेसम्म शिविरमा रहेका बेपत्ता मानिसहरूलाई पीडा दिइरहेको दृश्यले दर्शकलाई कहालीलाग्दो सशस्त्र द्वन्द्वकालीन घटना सम्झना बाध्य तुल्याइदिन्छ । जेलभित्रको सेटमा पात्रहरू ओछ्यानमै पल्टिएर अभिनय गरिरहेका छन् । 

दुई घन्टा अवधिको नाटकलाई निर्देशक मेरोलाले न्याय गर्न खोजेजस्तो देखिए पनि धैरै दृश्यहरू दोहोरिएका छन् । नाटकमा देखिएका कलाकारहरूले निर्वाह गरेको भूमिकाले दर्शकलाई निराश पार्दैन तर नाटकको अन्त्य फितलो बन्न पुगेको छ । नाटकको अन्त्यमा १३ वर्षे युद्धको दौरान अर्जेन्टिनामा बेपत्ता पारिएका र मारिएका मानिसहरूलाई महिला पात्रहरूले सेतो स्कार्फ लगाएर सम्झिएका छन् ।
वान वल्र्ड थिएटरले मञ्चन गरेको नाटकमा लेखक अलिसिया पार्टनोय, इभा लेइभा पार्टनोय, जिना लिन, लुनिभा तुलाधार, राजकुमार पुडासैनी, सरोज अर्याल, सपामिका गौतम, सुश्रुत आचार्य, शिशिर सिवाकोटी, विजय ताम्राकार, किरण चन्द्र, आयुष प्याकुरेल, अमृत ढकाल, बिम्ब अधिकारी, हेमन्त चालिसे र गौरव विष्टलगायत कलाकारका अभिनय रहेको छ । त्यस्तै संगीत अलेजान्द्रो रुटी र कोरियोग्राफी एलाइज ब्यायननिक र नाटक प्रोडक्सन राजकुमार पुडासैनीले गरेका छन् । 

१० वर्षे द्वन्द्वकलामा बेपत्ता भएका मानिसहरूको सम्झना गर्दै वान वल्र्ड थिएटरले भोइसेस अफ वुमन नेपालसँग सहकार्य गरेर ‘जनयुद्धमा बाँचेकाहरूको कथा’ नामक मल्टिमिडिया कला प्रदर्शनी कौसी थिएटरमा गरिरहेको छ । नाटक आगामी चैत ३ गतेसम्म मञ्चन हुनेछ ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App