कला

लगानी सम्मेलनमा दोलखाको ‘फिल्म सिटी’ पनि

दोलखा- आगामी चैत दोश्रो साता हुन लागेको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सोकेस’मा दोलखाको अन्तराष्ट्रिय फ्लिम सिटी समेत समेटिएको छ।

निकै लामो अध्ययन पछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको ४३ परियोजनाका  ‘सोकेस’को सूचीमा पर्यटन पूर्वाधार तर्फ दोलखाको खरिढुंगा आसपासको क्षेत्रमा प्रस्ताव गरिएको अन्तराष्ट्रिय फिल्म सिटी समावेश गरिएको हो।

लगानी भित्र्याउन सरकारले आगामी चैत १५ र १६ गते राजधानीमा अन्तराष्ट्रिय लगानी सम्मेलन गर्दैछ। अर्थमन्त्री संयोजक रहेको लगानी सम्मेलन २०१९ को निर्देशक समितिको बैठकले स्वीकृत गरेका ४३ ठूला परियोजनामा दोलखाको फ्लीम सिटीलाई पर्यटन पूर्वाधार तर्फ पाँचौं नम्बरमा राखिएको छ। लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्ता समक्ष परियोजनाहरुको विस्तृत विवरण प्रस्तुत गरेर त्यस्ता परियोजनामा लगानीका लागी आव्ह्वान गर्नेछ। लगानी बोर्डले तयार पारेको परियोजनाहरुको ‘सोकेस’मा पर्यटन पूर्वाधार तर्फ गौतमबुद्ध ईन्टरनेशनल म्याटरनिटी अस्पताल, जानकी हेरिटेज होटल, धुलिखेल ड्रिम ल्याण्ड, तालतलैया पर्यटकीय क्षेत्र बिकास इटहरी र फिल्म सिटी दोलखा छन्। समितिले सोकेसमा अन्य १० ओटा परियोजना समेत थप गर्न लागेकाले फ्ल्मि सिटीको लागत सहित विस्तृत परियोजना रिपोर्ट सार्वजनिक गरेको छैन्।

तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले दोलखामा अत्याधुनिक स्टुडियो सहित फ्ल्मि सिटी बनाउने निर्णय गरेपनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सकरात्मक थिएनन्। लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुरुमा लगानी बोर्डका अधिकारीहरुलाई गण्डकी प्रदेशलाई प्राथमिकतामा राखेर फ्ल्मि सिटी निर्माण गर्न सक्ने राजधानीबाट नजिकैको स्थान छनोट गर्न निर्देशन दिएका थिए। लगानी बोर्डको परामर्श तर्फका कर्मचारी सहितको टोलीले माघ ११ गते दोलखाको डाङडुङे क्षेत्र निरीक्षण गरेका थिए।  दोलखाबाट फर्किएपछि प्रधानमन्त्री संगको बैठकमा अन्यत्र स्थानमा जग्गा पर्याप्त पाउन नसकेको, पहुँचमार्गको राम्रो व्यवस्था नभएको लगायतका समस्या सुनाएर दोलखाको डाङडुङे डाँडा क्षेत्र समस्या मुक्त रहेको र राजधानीबाट समेत नजिक साथै दोहोरो लेनको सडक कालोपत्रे हुँदै गरेका कारण उपयुक्त स्थान हुने भन्दै बोर्डका अधिकारी सहितको टोलीले प्रधानमन्त्रीलाई सहमत गराएका थिए।

 दोलखाको भीमेश्वर नगरपालिका ९ लाँकुरीडाँडा स्थित डाङडुङे क्षेत्रको १५ सय रोपनी जग्गामा फिल्म सिटी निर्माण गर्ने निर्णय तत्कालिन प्रचण्ड सरकारले २०७३ फागुनमा गरेको थियो। सोही बर्षको चैत १५ मा चलचित्र विकास बोर्ड र वन मन्त्रालय बिच वन क्षेत्रमा पर्ने उक्त १५ सय रोपनी जमिनमा फ्ल्मि सिटी निर्माण गर्न दिने सहमतीमा हस्ताक्षर भएको थियो। चलचित्र नगरी बनाउने पूर्वाधार तयार गर्न मात्र त्यस यता सरकारले यो क्षेत्रमा करिब ४० करोड रकम खर्च गरिसकेको छ। लामोसाँघु–जिरी सडकको खरिढुंगा देखी डाङडुङे डाँडा सम्म ६ किलोमिटर सडक कालोपत्रे, प्रस्तावित चलचित्र नगरी क्षेत्रमा बिजुली, खानेपानी, लगायतका पूर्वाधार लैजान उक्त रकम सरकार आफैंले खर्चेको हो।

डाङडुङे डाँडामा चलचित्र नगरी निर्माण गर्ने अभियानमा शुरु देखी जुटेका बरिष्ठ कलाकार मदनदास श्रेष्ठले अन्तराष्ट्रिय लगानी सम्मेलनमा समावेश गरेर सरकारले दोलखामै फ्ल्मि सिटी बन्ने कुराको अब भने ग्यारेन्टी गरेको प्रतिक्रिया दिए। ‘आशा छ यो परियोजनामा अन्तराष्ट्रिय लगानीकर्ताहरुले पक्कै पनि लगानी गर्न ईच्छा व्यक्त गर्नेछन’ उनले भने। श्रेष्ठ चलचित्र विकास बोर्डले गठन गरेको दोलखा चलचित्र नगरी निर्माण समितिमा संयोजक समेत हुन्। दोलखा १ का प्रदेश सभा सांसद विशाल खड्काले प्रदेश सरकारको समेत प्रमुख प्राथमिकताको योजनामा दोलखा चलचित्र नगरी परेकाले संघ सरकारले यसलाई प्राथमिकता दिन सकरात्मक भएको सुनाए।

प्रकाशित: २९ फाल्गुन २०७५ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App