कला

‘इको’ मा मुना

काठमाडौं - इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन्। मंगलबारबाट सुरु प्रतियोगिताका लागि उनी मंगलबारै बिहान ८ बजे इजिप्ट तिर उडेकी हुन्।

६० देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि यो सिजनको उनी एक्लो प्रतिनिधि हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजनासहित उनलाई केही पहिले ‘मिस इको इन्टरनेसनल नेपाल २०१९’को ताज लगाउदै प्रतिनिधि चयन गरेको थियो।

गौचन नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगितामा प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र मौनता लामाले सहभागिता जनाइसकेका छन् । करिब दुई दर्जन आकर्षक पहिरनसहित उनी प्रतियोगितामा सहभागी हुन लागेको मिडियाका सिइओ प्रविन लाकौलले बताए। 

नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ‘मिस इको’ राम्रो प्लेटफर्म भएको गौचनले बताइन् । ‘नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकिय स्थानको पहिचानसहितको डकुमेन्ट्री लिएर प्रतियोगितामा सहभागिता जनाउँदैछु’, इजिप्ट उड्नु अघि उनले भनिन्।प्रतियोगिताको शीर्षउपाधि नेपाल भित्र्याउने विश्वासका साथ गौचनलाई आफूले इजिप्ट पठाएको ग्रीन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिइन् । 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:३३ बुधबार

मिस_इको_इन्टरनेसनल इजिप्ट सौन्दर्य_प्रतियोगिता