कला

कर्णाली समृद्धिको कथा

वीरेन्द्रनगरमा जारी ‘रारा राष्ट्रिय नाटक महोत्सव’मा नाटक प्रस्तुत गर्दै कलाकार। तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत - गाउँमा स्थानीय परम्पराअनुसार बिहे हुन्छ। विवाहपछि बुहारी गर्भवती हुन्छिन्। सासु र घरका सदस्यले सबै काममा बुहारीलाई सघाउँछन्। सासुले बुहारी गर्भवती भएको कुरा स्वास्थ्यकर्मीलाई जानकारी गराएको पाँच मिनेटमै घरमा पुगेर उनीहरूले स्वास्थ्य जाँच गर्छन्। गाउँको सरकारी कार्यालयमा कर्मचारी १० नबज्दै पुगिसक्छन्। सबै कामकाज नियमअनुसार नै हुन्छ। कार्यालयले समयमै काम गर्न नसके सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्था गर्छ। गाउँमै स्थानीयले सरकारी सुविधा पाउँछन् । गाउँमा आयोजना गरिएको महोत्सव उद्घाटन गर्न राष्ट्रपति केवुलकारमार्फत पुग्छन्। गाउँमा केबुलकार, रेल, एयर लिफ्टलगायत सबै सुविधा छन्।

निर्देशक आरके मेहेताले नाटक गर्दा र गराउँदा विभिन्न चुनौती आए पनि काठमाडौंको कथा कर्णालीमा प्रर्दशन गर्दा थप रोमाञ्चक बनेको बताए ।

१० वर्षपछिको यस्तै समृद्ध कर्णालीको परिकल्पना गरेर मञ्चन गरिएको नाटक ‘फड्को’ गत सोमबार रारा राष्ट्रिय महोत्सवमा मञ्चन गरियो। नाटकमा कर्णाली खस सांस्कृतिक मञ्चका लागि रन्नीबहादुर घर्तीले नाटक निर्देशन गरेका हुन्। निर्देशक घर्तीले जुम्लाको संस्कृति र परम्परालाई नाटकमा देखाउन खोजिएको बताए। 

नाटकमा सूर्यमणि हमाल, भानुभक्त उपाध्याय, दीपेन्द्र उपाध्याय, कल्पना बुढा, कमला उपाध्याय, मिना उपाध्याय, मेनका जिसी, ज्योति कामी, संजिता जिसीलगायत कलाकारले अभिनय गरेका थिए। त्यस्तै सोमबार नै साइलेन्ट एक्ट, काठमाडौको नाटक ‘जिउँदो आकाश’ देखाइयो। नाटकमा तेस्रो लिंगीको कथालाई प्रस्तुत गरिएको थियो। 

निर्देशक आरके मेहेताले नाटक गर्दा र गराउँदा विभिन्न चुनौती आए पनि काठमाडौंको कथा कर्णालीमा प्रर्दशन गर्दा थप रोमाञ्चक बनेको बताए। नाटकमा  अनिल सुब्बा, किरण चाम्लिङ, रेनुका कार्की, हेमन तन्डुकार, कमल राईलगायत कलाकारले अभिनय गरेका थिए।

स्थानीय आयोजक आरंग नेपालका अध्यक्ष गणेशभक्त गौतमका अनुसार सोमबारसम्म ९ नाटक प्रदर्शन गरिएका छन्। प्रत्येक प्रदेशबाट दुई नाटकले महोत्सवमा सहभागिता जनाएको उनले जानकारी दिए।

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:०४ बुधबार

नाटक महोत्सव जुम्ला