कला

तामाङ भाषा साहित्यबारे अध्ययन गोष्ठी

काठमाडौं- संस्कृति, भाषा तथा साहित्यबारे राजधानीमा तामाङ अध्ययन गोष्ठी भएको छ। तामाङ न्हाङखोरले  नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कार्यक्रम गरेको हो।

गोष्ठीमा २ वटा विमर्श कार्यक्रम र २१ वटा सेमिनार पेपर प्रस्तुत गरिएको संस्थाका अध्यक्ष अमृत तामाङ योञ्जनले बताए।

विमर्शमा तामाङ लोकगीत फापरे व्हाइू र तामाङ वंशावलीको बारेमा विषय केन्द्रित वहस भएको थियो। कार्यपत्र भाषा, साहित्य, शिक्षा, सञ्चार, खानपिन, प्रविधि, इतिहास, अर्थव्यवस्था, संस्मरण, महिला, विकास आदि विषयहरूमा केन्द्रित रहेका थिए। नेपालका साथै भारतका कोलकता, दार्जिलिङ र सिक्किमबाट पनि पेपर प्रस्तुत भएको थियो।

तामाङ न्हाङखोरका संरक्षक डा. गणेश योन्जनको अध्यक्ष्यतामा सम्पन्न उद्‌घाटन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले  प्रमुख अतिथिको आसन गरेका थिए भने प्राज्ञ वैरागी काइँलाले आफ्नो सम्भाषण प्रस्तुत गरेका थिए।

 

प्रकाशित: २८ फाल्गुन २०७५ १२:५५ मंगलबार

भाषा साहित्य संस्कृति तामाङ